गाजामा अमेरिकाले पहिलोपटक विमानबाट राहत सामग्री खसाल्यो

काठमाडौं । हमास र इजरायलबीच पाँच महिनादेखि जारी युद्धका बीच गाजापट्टीमा अमेरिकाले पहिलोपटक विमानबाट राहत सामग्री खसालेको छ । अमेरिकाले तीनवटा सैन्य विमानबाट खाद्य सामग्रीका ३८ हजार प्याकेट खसालेको हो । जोर्डन वायुसेनाको सहयोगमा सो सहयोग सामाग्री खसालिएको अमेरिकी केन्द्रीय कमान्डले जनाएको छ । अमेरिकी अधिकारीहरूले शुक्रबार राष्ट्रपति जो बाइडेनले घोषणा गरे अनुसार पहिलोपटक राहत सामग्री खसालिएको हो । बिहीबार राहत सामग्रीको पर्खाइमा रहेका १ सय भन्दा बढी व्यक्तिको मृत्यु भएपछि बाइडेनले सहयोगको वाचा गरेका थिए । इजरायलले गाजामा भएको सहायताकर्मीहरूको मृत्युमा आफ्नो सेनाबाट गम्भीर त्रुटि भएको स्वीकार गरेको छ । आफ्नो सेनाले आवश्यक प्रक्रिया पूरा नगर्दा घटना भएको इजरायली डिफेन्स फोर्स– आईडीएफको स्वीकारोक्ति छ । सोमबारको घटनापछि दुई अधिकारीलाई बर्खास्त गरिएको पनि आईडीएफले जनाएको छ । बर्खास्त हुनेमा एक कर्नेल र एक मेजर ओहोदाका सैनिक अधिकारी छन् । अन्य २ अधिकारीलाई औपचारिक चेतावनी दिइएको जनाइएको छ । इजरायली सेनाले गरेको ड्रोन हमलामा सोमबार वर्ल्ड सेन्ट्रल किचन नामक सहायता संस्थाका ७ सहायताकर्मीको मृत्यु भएको थियो । इजरायलले पटक–पटक सहायता कटौती गरेको र सहायता समूहलाई निशाना बनाएको आरोप परोपकारी संस्थाहरूले लगाउँदै आएका छन् । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायल र हमासबीच संघर्ष विश्रामका लागि हमाससँग थप छलफल गर्न मध्यस्थकर्ता कतार र इजिप्टलाई आग्रह गरेका छन् । इजरायली आक्रमणमा हालसम्म ३३ हजारभन्दा बढी मानिस मारिएका छन्, जसमध्ये २१ हजार बालबालिका र महिला छन् । ७ हजारभन्दा बढी गाजावासी बेपत्ता र ७० हजारभन्दा बढी घाइते छन ।

प्रतिक्रिया