काठमाडौंको फोहोर बञ्चरेडाँडामा व्यवस्थापन गर्न स्थानीयको अवरोध

काठमाडौं । विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहोर बञ्चरेडाँडामा व्यवस्थापना गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् । ‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’ नुवाकोट–धादिङले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर व्यवस्थापनमा अवरोध गरेको हो । समितिका संयोजक श्रीराम ढुङ्गानाले सर्वपक्षीय भेलाबाट प्रस्तुत ११ बुँदे माग सम्बोधनका लागि गत फागुन २१ गते प्रधानमन्त्रीसमक्ष पेस गरिएका मागको सुनुवाइ नभएकाले शान्तिपूर्ण आन्दोलनको कार्यक्रमसहित फोहर विसर्जनमा रोक लगाइएको बताए । आज बिहानैदेखि फोहर विसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध  पारेका हुन । फोहर विसर्जनका सम्बन्धमा विगतका सहमतिको कार्यान्वयन र नयाँ मागको सम्बोधनको प्रतिबद्धता नभएसम्म फोहर फाल्न नदिने उनीहरुको भनाइ छ । बञ्चरेडाँडा ल्यान्डफिलसाइटमा काठमाडौं र ललितपुरका साथै अन्य नगरपालिकाबाट दैनिक एक हजार पाँच सय टन फोहोर व्यवस्थापन हुने गरेको छ ।

प्रतिक्रिया