सिरियाको दमास्कसस्थित इरानी वाणिज्य दूतावासको भवनमा इजरायलको हवाइ आक्रमण

काठमाडौं । सिरियाको राजधानी दमास्कसमा रहेको इरानी वाणिज्य दूतावासको भवनमा इजरायलले हवाई आक्रमण गरेको छ । इजरायली लडाकु विमानले गरेको आक्रमणमा इरानका वरिष्ठ कमाण्डर मोहम्मद रेजा जाहेदी मारिएका हुन । इरानले आक्रमणमा तीन वरिष्ठ कमाण्डरहरूसहित आफ्ना सात सैन्य सल्लाहकार मारिएको स्वीकार गरेको छ । दमास्कसको मेजेह जिल्लामा रहेको इरानी दुतावासको मुख्य भवनसँगै जोडिएको कन्सुलेट भवन इजरायली बमबारीबाट ध्वस्त भएको छ । इरानको रेभोलुस्नरी गार्ड्सले एक विज्ञप्तिमार्फत वरिष्ठ कमाण्डर मोहम्मद रेजा जाहेदी मारिएको पुष्टी गरेको छ । इजरायलले लामो समयदेखि सिरियामा इरानको सैन्य प्रतिष्ठान र त्यसका सहयोगीमाथि हमला गर्दै आएपनि दूतावास परिसरमा यति ठूलो आक्रमण गरेको यो पहिलो घटना हो । दूतावास नजिकै रहेको भवन भग्नावशेषमा परिणत भएपनि इरानी दूतावासमा भने खासै क्षति नभएको बताइएको छ । इरान र सिरियाका विदेशमन्त्रीहरूले आक्रमणको कडा निन्दा गरेका छन् । तर, इजरायलको सेनाले भने प्रतिक्रिया जनाएको छैन । इजरायल र लेबनानमा युद्ध गरिरहेका इरान र हिजबुल्लाहलाई अझै उक्साउने उद्देश्यले इजरायलले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया