हमास नेता इसा मार्वान् इजरायली आक्रमणमा मारिएको अमेरिकी दाबी

इजरायली हवाई आक्रमणमा हमासका वरिष्ठ नेता मार्वान् इसाको मृत्यु भएको अमेरिकाले दाबी गरेको छ ।  अमेरिकी सुरक्षा सल्लाहकार जेक सुलिभानले इसा एक हप्ताअघि मध्य गाजाको नुसेइराट शरणार्थी शिविरअन्तर्गत सुरुङ कम्प्लेक्समा इजरायली हवाई आक्रमणमा मारिएको बताएका हुन । अक्टोबर ७ मा युद्ध सुरु भएयता इजरायली आक्रमणमा परी मृत्यु हुने इसा हमासका सबैभन्दा वरिष्ठ नेता हुन् । उनी हमासको डिपुटी सैन्य कमान्डर थिए । तर हमासले भने इसाको मृत्युको विषयमा कुनै आधिकारिक भनाइ सार्वजनिक गरेको छैन  । सोमबार अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग युद्धविरामबारे वार्ता गरेपछि मृत्युको विवरण सार्वजनिक भएको हो । हमासको सैन्य शाखा, इज्जेदिन अल–कसाम ब्रिगेडका डेपुटी कमान्डरलाई इजरायलको मोस्ट वान्टेड व्यक्तिमध्ये एक थिए । उनलाई युरोपेली संघले आतंकवादीको सूचीमा राखेको थियो ।  उनी पहिलो प्यालेस्टिनी इन्तिफादाको समयमा  १९९७ सम्म पाँच वर्ष इजरायलको जेलमा परेका थिए । उनलाई प्यालेस्टिनी प्राधिकरणले पनि २००० मा हिरासतमा राखेको थियो । 
 

प्रतिक्रिया