पुटिन पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपतिमा निर्वाचित

भ्लादिमिर पुटिन पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपति निर्वाचित भएका छन् । तीन अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पुटिनले जीत हासिल गर्न सफल भएका हुन् । रुसको केन्द्रीय निर्वाचन आयोगले पुटिनले ८७.३ प्रतिशत मत ल्याएको जनाएको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार पुटिनले ८७ प्रतिशत मत प्राप्त गरेका छन् । रुसको इतिहासमै पुटिन सबैभन्दा धेरै मत प्राप्त गर्ने नेता बनेका छन् । चुनावपछिको पत्रकार सम्मेलनमा पुटिनले पश्चिमाको प्रतिवाद गर्ने र युक्रेनमा आक्रमण गर्ने आफ्नो निर्णयलाई निर्वाचनको परिणामले पुष्टि गरेको बताएका छन् । रुसका आलोचक तथा पश्चिमा देशहरुले यो परिणामलाई अपेक्षित भनेका छन् । मतदानको अन्तिम दिन आइतबार रुसी शहरहरूमा कम्तिमा ८० प्रदर्शनकारीहरू पक्राउ परेका थिए । कारागारभित्रै मारिएका विपक्षी नेता एलेक्सी नाभाल्नीकी विधवाले जारी गरेको विरोध अपिलमा भेला हुनेहरुको मतदान केन्द्रबाहिर लामो लाइन लागेको थियो । रुसले कब्जा गरेको युक्रेनका केही भूभागमा पनि यसपटक मतदान भएको छ । जापोरिज्जिया, खेरसन, डोनेस्क, लुहान्स्क र क्राइमिया क्षेत्रमा चुनाव गराएर रुसले ती क्षेत्रहरु आफुले नछाड्ने सन्देश दिएको हो । जितसँगै पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन् । त्यतिबेला उनी ७७ वर्षका हुनेछन् । जोसेफ स्टालिनपछि पुटिन रुसमा सबैभन्दा लामो सत्तामा रहने नेता हुन् । उनी विगत ३ दशकदेखि शक्तिमा रहेका छन् । यसअघि प्रत्येक चार वर्षमा राष्ट्रपति पदका लागि निर्वाचन गरेकोमा सन् २००८ मा कार्यकालको अवधि छ वर्षका लागि बनाइएको हो ।
 

प्रतिक्रिया