रुसमा नयाँ राष्ट्रपति चयनका लागि आजवाट तीन दिनसम्म मतदान

रुसमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरु भएको छ । आजदेखि तीन दिनसम्म चल्ने मतदानले देशको नयाँ राष्ट्रपति चयन गर्नेछ । एकहत्तर वर्षीय राष्ट्रपति भ्लादिमिर पुटिन पाँचौं कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा छन । बाँकी नाम मात्रका प्रतिद्वन्द्वीहरु मैदानमा रहेकाले पुटिनले अर्को छ वर्षे कार्यकालका लागि सहजै निर्वाचन जित्ने विश्वास गरिएको छ । पुटिनको विपक्षमा निकोलाई खारितोनोभ, लिओ–निद स्लुतस्की, भ्लादिस्लाभ दाभान्कोभसहित तीन उम्मेदवार मैदानमा रहेका छन । पुटिनविरुद्ध उम्मेदवारी दिए पनि उनीहरु कोही पनि पुटिनका आलोचक भने होइनन् । पुटिन स्वयं भने स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लड्दै छन् । चुनाव अघि एक भिडियो सन्देश जारी गर्दै पुटिनले आगामी राष्ट्रपतीय निर्वाचनको परिणामले भावी वर्षका लागि देश विकासको आकार निर्माण बताउँदै मतदानमा सहभागी हुन देशवासीलाई आह्वान गरेका छन् । पुटिनसँग प्रतिस्पर्धामा रहेका ७५ वर्षीय निकोलाई कम्युनिस्ट पार्टी अफ रसियन फेडरेसनका  उम्मेदवार हुन् । खारितोनोभ रुसी संसद्को तल्लो सदन स्टेट ड्युमा सन् १९९४ देखि सांसद रहँदै आएका छन् । सन् २००४ मा भएको निर्वाचनमा पनि उनले पुटिनविरुद्ध उम्मेदवारी दिएका थिए भने पुटिनले ७१.९१ मत पाउँदा उनले १३.८ प्रतिशत मत पाएका थिए ।अर्का उम्मेदवार लिओनिद पनि तल्लो सदनका सांसद हुन् । ५६ वर्षीय लिओनिद चरम राष्ट्रवादी दल लिबरल डेमोक्र्याटिक पार्टी अफ रसियाका नेता हुन् । त्यस्तै अर्का उम्मेदवार भ्लादिस्लाभ दाभान्कोभ संसद्का उपसभामुख हुन् भने उनी न्यु पिपुल पोलिटिकल पार्टीका निर्वाचित सांसद हुन् । ४० वर्षीय दाभान्कोभ राष्ट्रपति पदका सबैभन्दा युवा प्रतिस्पर्धी हुन् । 
 

प्रतिक्रिया