हाइटीका प्रधानमन्त्री एरियल हेनरीले दिए राजीनामा

काठमाडौं । हाइटीका प्रधानमन्त्री एरियल हेनरीले राजीनामा दिएका छन् । केही हप्तायता दबाब चर्किरहेको अनि देशभरमा हिंसा बढेको परिस्थितिमा हेनरीले राजीनामा दिएका हुन् । सोमबार जमैकामा क्षेत्रीय नेताहरूले हाइटीको राजनीतिक सङ्क्रमणबारे छलफल गरेलगत्तै उनको राजीनामा आएको हो । सशस्त्र समूहहरूले स्वदेश छिर्न नदिएपछि हेनरी अहिले प्यूर्टो रिकोमा अलपत्र छन् । सन् २०२१ को जुलाईमा पूर्व राष्ट्रपतिको हत्या भएयता उनले मु्लुकको नेतृत्व सम्हाल्दै आएका थिए । हालैका दिनमा हतियारधारी समूहहरूले राजधानी पोर्ट–ओ–प्रिन्सलाई कब्जामा लिएर उनको प्रधानमन्त्रीको राजीनामा माग्दै आएका थिए । हाइटीमा जारी द्वन्द्व समाधान गर्न सहयोग जुटाउन हेनरी केही दिन अघि केन्याको भ्रमण गएको थिए । त्यही बेला सशस्त्र समूहहरूले प्रहरी थानाहरुमा आक्रमण गर्नुको साथै देशका दुई ठुला जेलमा रहेका हजारौँ बन्दीलाई रिहा गरेपछि हिंसा चर्केको हो । हिजो मात्रै संयुक्त राष्ट्रसंघले त्यहाँ रहेका आफ्ना सबै कूटनीतिज्ञलाई फिर्ता गरेको छ । हाइटीमा हिंसा बढ्दै गएको र पछिल्लो हिंसाका कारण सन् २०१० को भूकम्पपछि सबैभन्दा बढी मानवीय सङ्कटको अवस्था आएको राष्ट्रसंघले जनाएको छ । सन् २०२० देखि नै गृहयुद्ध हुँदै आएको हैटीमा हजारौँले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया