स्वीडेन र क्यानडाद्धारा प्यालेस्टिनी शरणार्थीका लागि ३८ मिलियन डलर कोष विनियोजन

स्वीडेन र क्यानडाले प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्र सङ्घको एजेन्सी यूएनआरडब्ल्यूएलाई पुनः सहायता प्रदान गर्न शुरु गरेका छन् । गएको अक्टोबर ७ मा १२ सय जनाको ज्यान जानेगरी प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा यूएनआरडब्ल्यूएका कम्तीमा १२ जना कर्मचारी संलग्न भएको आरोप लगाएपछि क्यानडा र स्वीडेनलगायत १६ वटा देशले एजेन्सीलाई आर्थिक सहयोग रोकेका थिए । संयुक्त राष्ट्रसङ्घको एजेन्सीले आफ्ना कर्मचारी र खर्चको थप कडा अनुगमन गर्ने वाचा गरेपछि स्वीडेनले प्रारम्भिक रुपमा १९ मिलियन सहायता पठाउने बताएको छ । विज्ञप्तिमा स्वीडेन सरकारले सन् २०२४ मा सहायताका लागि ३८ मिलियन डलरको कोष विनियोजन गरेको उल्लेख छ । क्यानाडाले पनि यूएनआरडब्ल्यूएलाई कोष पुनः शुरु गरिरहेको छ । यस्तै, विहिबार अमेरिकाले अमेरिकी सेनालाई समुद्री मार्गबाट गाजामा सहायता सामग्री पु¥याउन बन्दरगाह निर्माण गर्न निर्देशन दिएको थियो । अक्टोबर ७ तारिखको हमलाको विरोधमा इजरायलले हमास नियन्त्रित क्षेत्र गाजामा अन्धाधुन्ध आक्रमण गरिरहेको छ । अहिलेसम्म झण्डै ३१ हजार जना मारिएका छन् । अस्पताल समेत ध्वस्त भएका छन् । खाना र पानीको अभावमा कयौँ नागरिकको अवस्था नाजुक बन्दै गएको छ ।
 

प्रतिक्रिया