आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डलाई २–१ ले हराउँदै आर्सनल अङ्कतालिकाको शीर्ष स्थानमा पुगेको हो । आर्सनलका डेकलन राइसले खेलको १९ औँ मिनेटमा र काई हार्भाटेर्जले ८६ औँ मिनेटमा गोल गरे । बे्रन्टफोर्डका योआन विस्साले खेलको पहिलो हाफको अन्ततिर गोल गरे । जितसँगै शीर्षस्थानमा पुगेको आर्सनलको २८ खेलमा ६४ अङ्क भएको छ । दोस्रो र तेस्रो स्थानमा रहेका लिभरपुल र म्यानचेस्टर सिटीको समान २७ खेलमा ६३ र ६२ अङ्क रहेको छ । प्रिमियर लिगमा आज लिभरपुल र म्यानचेस्टर सिटी खेल्दैछन् । यो खेल आजराति साढे ९ बजे शुरु हुनेछ । हिजो भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई २–० ले हराएको छ । युनाइटेडका ब्रुरुनो फर्नान्डेज र मार्कुस रार्सफर्डले एक÷एक गोल गरे । दुवै गोल पेनाल्टीमा भएका हुन् । ब्रुरुनोले खेलको १२ औँ र मार्कुसले ३६ औँ मिनेटमा गोल गरेका हुन् । जितसँगै युनाइटेडको २८ खेलमा ४७ अङ्क भएको छ । युनाइटेड तालिकाको छैटौँ स्थानमा छ । एभर्टन २८ खेलमा २५ अङ्कसहित १६औँ स्थानमा छ । हिजो भएका अरु खेलमा उल्भ्सले फुलहमलाई २–१ गोलले हराएको छ भने क्रिस्टल प्यालेस र लुटन टाउनले एक÷एक गोलको तथा बर्नमाउथ र सेफिल्ड युनाइटेडले २÷२ गोलको बराबरी खेलेका छन् । आज एस्टनभिल्ला र टोटनहम, वेस्ट ह्याम र बर्नली तथा ब्राइटन र नटिङघम फरेस्टबीच पनि खेल हुनेछ ।
 

प्रतिक्रिया