मूल्यमा नयाँ कीर्तिमान कायम, प्रतितोला १ लाख २३ हजार रूपैयाँमा कारोबार

नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । यो साता आइतबार प्रतितोला दुई हजार रूपैयाँले बढेर सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । आज प्रतितोला दुईहजार रूपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार रूपैयाँ पुगेको छ । तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २२ हजार चारसय रूपैयाँमा कारोबार भैरहेको छ । यसअघि पुस १२ मा सुन हालसम्मकै उच्च मूल्य एक लाख २२ हजार रूपैयाँमा कारोबार भएको थियो । चाँदी आज प्रतितोला १४ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा पनि उच्च बिन्दुमा रहेको छ । अमेरिकी डलरको मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य आकाशिएको हो । नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण  हुने गर्दछ । लगनको सिजन सुरु भए पनि सुनको कारोबार भने बढ्न सकेको छैन । अहिले दैनिक आयात भइरहेको २० केजी सुनले बजार माग धान्ने गरेको व्यवसायीको भनाइ छ । मूल्य बढेकाले बजारमा सुनको माग बढ्न नसकेको व्यवसायीको भनाइ छ । विगतका वर्ष लगनका समयमा दैनिक ४० देखि ५० किलो सुनको माग हुने गरेकामा हाल दैनिक २० किलोले माग धानिरहेको छ । बजारमा सुनको माग न्यून हुँदा कारोबारमा समेत उल्लेख्य गिरावट आएको छ । हाल सुनको कारोबार घटेर ३० प्रतिशतमा झरेको छ । सामान्य अवस्थामा वार्षिक एक खर्ब रुपियाँ बराबरको सुनको कारोबार हुने गरेको र यसबाट सरकारलाई नौ अर्ब रुपियाँ राजस्व हुने गरेको छ ।  चालु आर्थिक वर्षको सात महिनामा सुनको आयात ५५ प्रतिशतले घटेको छ । बजारमा माग कम हुँदा सुनको आयातमा उल्लेख्य कमी आएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार सात महिनामा १३ अर्ब ४७ करोड २९ लाख ३२ हजार रुपियाँको ८२१ किलो सुन आयात भएको छ । गत वर्ष सो अवधिमा ३१ अर्ब २७ करोड ५५ लाख रुपियाँका एक हजार २५ किलो सुन आयात भएको छ ।। 

प्रतिक्रिया