नागरिकको जीवनस्तरमा सुधार हुनेगरी आगामी बजेट आउँछ: अर्थमन्त्री

अर्थतन्त्र सकारात्मक रहेको दाबी

अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक ऋणको दायित्व भुक्तानी गर्न सरकारले वर्षेनी ठूलो रकम विनियोजन गर्नुपर्ने अवस्था रहेको बताएका छन । आज प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस भन्ने प्रश्ताव प्रश्तुत गर्दै उनले आगामी आर्थिक वर्षमा मात्रै एक खर्ब भन्दा बढी रकम सार्वजनिक ऋणको भुक्तानीको लागि खर्च गर्नुपर्ने दायित्व सरकार सामु रहेको बताएका हुन । मन्त्री महतले विकास आयोजनाहरुमा न्युन बजेट विनियोजन गरेका कारण सृर्जित दायित्व भुक्तानी गर्न पनि सरकारका लागि चुनौतिको विषय रहेको स्पष्ट पारे । 
अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढेको बताए । उनले केही लचकता एवं वित्त नीति र मौद्रिक नीति बीचमा तालमेल गर्न गरिएको प्रयासबाट अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढ्न सफल भएको स्पष्ट पारेका हुन । 
अर्थमन्त्री महतले आम नागरिकको जीवनस्तरमा सुधार हुनेगरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्नुपर्ने आवश्यकता रहेको पनि स्पष्ट पारे । मुलुकको अर्थतन्त्रलाई विश्व अर्थतन्त्र गतिसँगै अघि बढाउने लक्ष्य पनि आगामी आर्थिक वर्षको बजेटमा हुने उनले जानकारी दिए । अर्थमन्त्री महतले मुलुकले भोग्दै आएको न्युन उत्पादन र उत्पादकत्व, उच्च व्यापार घाटा, कमजोर निर्यात, आर्थिक दृष्टिले सक्रिय उमेर समूहको जनशक्ति पलायनजस्ता समस्या समाधान गर्नु आगामी आर्थिक वर्षको बजेटको प्राथमिकताको विषय भएको पनि बताए । सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मल कारखाना खोल्ने प्रक्रियालाई अघि बढाउने उनको भनाइ छ । 

प्रतिक्रिया