रुसका विपक्षी नेता नाभाल्नीको शव सरकारद्वारा परिवारलाई हस्तान्तरण

रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनका परिवारलाई हस्तान्तरण गरिएको छ । शव हस्तान्तरण अघि रुस सरकारले नाभाल्नीको परिवारलाई मृत्यु प्राकृतिक कारणले भएको भन्दै मृत्यु प्रमाणपत्रमा हस्ताक्षर गर्न लगाएको छ । नाभाल्नीको अन्त्येष्टी कता र कहिले गर्ने भन्ने बारे उनका परिवारले स्पष्ट पारेको छैन । नाभाल्नीको मृत्यु घोषणा भएको दिनदेखि नाभाल्नीको शव राखिएको जेल नजिकको शहरमा बस्दै आएकी नाभाल्नीको आमालाई उनको मृत्यु प्राकृतिक रुपमा भएको भन्दै मृत्यु प्रमाणपत्रमा हस्ताक्षर गर्न दबाव दिइएको थियो । हस्ताक्षर नगरेको खण्डमा जेलकोे मैदानमा शव गाड्ने धम्की आएपछि नाभाल्नीका आमा प्राकृतिक रुपमा मृत्यु भएको पत्रमा हस्ताक्षर गर्न बाध्य भएकी हुन् । यसअघि नाभाल्नीका पत्नी युयिला नवल्नायाले राष्ट्रपति भ्लादिमीर पुटिनलाई संकेत गदै आफनो पतिको शवलाई समेत बन्धक बनाएको आरोप सहितको भिडियो सन्देश जारी गरेकी थिइन् । रुसी राष्ट्रपतिका कट्टर आलोचकका रुपमा रहेका नाभाल्नीको गत  फेब्रुअरी १६मा रुसको आर्कटिक सर्कल भित्रको रुसी जेलमा मृत्यु भएको थियो । 

प्रतिक्रिया