अर्थतन्त्रका बाह्य सूचकमा निरन्तर सुधार, विदेशी मुद्रा सञ्चिती अठार खर्ब नाघ्याे

अर्थतन्त्रका बाह्य सूचकहरुमा सुधारले निरन्तरता पाएको छ । चालु वर्षको ६ महिनामा शोधनान्तर बचत २ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको हो । पुसमा मात्रै शोधनान्तर बचत ६२ अर्ब ९३ करोड रुपैयाँ थपिएको नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । नेपाल राष्ट्र बैंकका अनुसार हाल चालु खाता १ खर्ब ६१ अर्ब रुपैयाँ बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा भने चालु खाता ३५ अर्ब ५७ करोड रुपैयाँ घाटामा थियो । यस्तै, विदेशी विनिमयको सञ्चिति गत असारको तुलनामा १८ प्रतिशतले बढेर १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ बराबर पुगेको छ । ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४ दशमलब ५ महिनाको वस्तु आयात र १२ दशमलब १ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने बैंकले जनाएको छ । ६ महिनामा ७ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको तथ्यांक छ । त्यस्तै चालु आर्थिक वर्ष ६ महिनामा रेमिटेन्स २५ दशमलब ३ प्रतिशतले बढेको छ । यो बर्ष पुससम्म ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । पुस महिनाामा मात्र करिब १ खर्ब २० अर्ब रुपैयाँ भित्रिएको हो । अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह २२.६ प्रतिशतले वृद्धि भएर ५ अर्ब ५२ करोड पुगेको तथ्याङ्कमा उल्लेख छ । वैदेशिक रोजगारीमा जानेको संख्या भने घटेको छ ।  यो वर्ष ६ महिनामा १ लाख ३५ हजार ४३५ जनाले पुनः श्रम स्वीकृति लिएका छन ।  त्यस्तै आर्थिक वर्षको छ महिनाको उपभोक्ता मुद्रास्फीति महंगी ५ दशमलब २६ रहेको  बैंकले जनाएको छ ।अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत रहेको थियो ।  चालू आर्थिक वर्षको पुष महिनामा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ५ दशमलब ७७ र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४ दशमलब ८५ प्रतिशत रहेको तथ्यांकले देखाएको हो । 

प्रतिक्रिया