दुई खेल अगावै पुलिस क्लव प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लवले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ । सोमबार लगातार सातौं जित निकाल्दै पुलिसले १४ अंकसहित दुई खेलअघि नै फाइनलमा आफूलाई सुरक्षित राखेको हो । यससँगै यो सिजनमा पुलिस फाइनल पुग्ने पहिलो टिम बनेको छ । मुलपानी मैदानमा भएको खेलमा गण्डकी प्रदेशले ३८ दशमलब ३ ओभरमा १ सय ७० रन बनाएको थियो । ४५ ओभरमा छोट्याइएको खेलमा पुलिसले सो लक्ष्य २४ दशमलब २ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । कीर्तिपुर मैदानमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ९७ रनले हराएको छ । खेलमा २ सय ६३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ४० दशमलब १ ओभरमा १ सय ६५ रनमा समेटिएको हो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मी ४८दशमलब ३ ओभरमा २ सय ६२ रन बनाएको थियो । सुदुरपश्चिमसँगको जितसँगै आर्मी फाइनलमा नजिक पुगेको छ । अन्तिम खेलअघि आर्मी १२ अंक जोडेर दोस्रो स्थानमा छ । अब बिहीबार गण्डकीलाई पराजित गरे आर्मीले नेपाल पुलिससँग शनिबार फाइनल खेल्नेछ । यस्तै एपिएफ र सुदुरपश्चिमको नजितामा पनि आर्मीको फाइनल यात्रा तय हुनेछ । अन्तिम खेलमा पराजित भएको अवस्थामा पनि आर्मी फाइनल पुग्नेछ । त्यसका लागि एपिएफ र सुदूरले बाँकी रहेका दुई खेल मध्ये एक खेल पराजित भए पुग्नेछ । आर्मीलाई पछि पारेर फाइनल पुग्न एपिएफ र सुदुरले बाँकी रहेका दुवै खेल जितेर पुग्दैन रनरेटमा पनि अघि रहनुपर्ने अवस्था छ । त्यसका लागि आर्मीले अन्तिम खेल हार्नुपर्ने हुन्छ । 

प्रतिक्रिया