सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न सकेनः अर्थमन्त्री डा.महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेको बताएका छन । शुक्रबार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताएका हुन । मन्त्री महतले राजश्व केही वृद्धि भएपनि लक्ष्यअनुसार उठ्न नसकेको बताए । 
मन्त्री महतले विद्युतीय सवारीसाधनहरुको आयात इन्धनमुखी सवारीको भन्दा दोब्बर बढी भएकाले पनि भन्सार राजश्व कम उठेको गुनासो गरे । इन्धनमुखी सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको भन्सार न्युन राखेकाले पछिल्लो आँकडामा ३४÷३५ अर्ब कम भन्सार राजश्व उठेको दाबी उनको थियो । कार्यक्रममा व्यवसायीहरुले भने सरकारले भन्सारबाट हुने अवैध कारोबार रोक्न नसक्दा राजश्वमा कमी भएको बताए । 
व्यवसायीहरुले भन्सारमा बिन्दुबाट नै अवैध कारोबार हुने गरेको भन्दै सरकारले रोक्न नसकेको गुनासो गरेका हुन । भन्सारमा आयातकर्ताको विवरण,उपभोग्य म्याद गुज्रिने अवधि आदि मापदण्ड पूरा नगरेका वस्तुहरु भन्सार बिन्दुमा नै रोक लगाउने भनिए पनि कार्यान्वयन फितलो देखिएको व्यवसायीहरुको भनाइ थियो ।
 

प्रतिक्रिया