प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ र कर्णालीकाे बिजयी शुरुवात

एपीएफ क्लव र कर्णाली प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा बिजयी शुरु गरेका छन् । आइतबार त्रिवि मैदानमा भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ८९ र सिद्धार्थ क्रिकेट रंगशाला भैरहवामा भएको खेलमा कर्णालीले गण्डकीलाई ७ विकेटले हराएको हो । एपीएफले दिएको २ सय ४२ रनको लक्ष्य पछ्याएको बागमती ४२ दशमलव ५ ओभरमा एक सय ५२ रनमा समेटियो । बागमतीका लागि कप्तान रित गौतमले सर्वाधिक ६६, ओपनर आशुतोष घिरैयाले ४१, विवेक गौतमले १५ र रविन जोशीले अविजित २० रन बनाए । एपीएफका लागि रोहित पौडेलले ४, अभिनाश बोहरा र श्याम ढकालले २–२ विकेट लिए । पुरन विक र भुवन कार्कीले १–१ विकेट झारे । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४१ रन बनाएको थियो । एपीएफका लागि सन्दीप जोराले १ सय १२ रनको शतकीय इनिङ खेले । लोकेश बमले २७, अमर राउटेलाले २२, ओपनर प्रज्वल शाहीले १० र आसिफ शेखले १५ रन बनाए । बागमतीका सुर्य तामाङले ३, प्रतिश जिसि र राजन ढकालले २–२ तथा सोनु देवकोटाले १ विकेट लिए । जितसँगै एपीएफले पहिलो खेलबाट २ अंक जोड्दा बागमतीले दोस्रो हार व्यहोरेको हो । आजै सिद्धार्थ क्रिकेट रंगशालामा ४५ ओभरमा छोट्याएको खेलमा गण्डकीले दिएको एक सय २३ रनको लक्ष्य कर्णालीले ३३.२ ओभरमा मात्र तीन विकेट गुमाउँदै पूरा ग¥यो । कर्णालीका लागि हिमान्शु शाहीले ५३, ओपनर रविन्द्र शाहीले २०, निश्चल रावलले २९ रनमा र अर्जुन घर्तीले अविजित १० रन बनाए । गण्डकीका लागि अंकित न्यौपानेले दुई र विपिन खत्रीले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा एक सय २२ रन बनाएको थियो । जितसँगै कर्णाली पहिलो खेलबाट २ अंक जोड्दा गण्डकीले भने दोस्रो हार व्यहोरेको छ ।।

प्रतिक्रिया