विश्व फुटबलका महान हस्ती बेकेनबावरको निधन

विश्व फुटबलका महान हस्ती फ्रान्ज बेकेनबावरको ७८ वर्षको उमेरमा निधन भएको छ । विश्व फुटबलका महान मध्ये एक मानिने बेकेनबावर खेलाडी र प्रशिक्षक दुबै भूमिकामा फिफा विश्वकप जित्ने तीन व्यक्तिमध्ये एक हुन् । उनले सन् १९७४ मा तत्कालीन पश्चिम जर्मनीको कप्तानको रूपमा र १९९० मा प्रशिक्षकको रूपमा विश्वकप जितेका थिए । बेकेनबावरले १९६६ को विश्वकपमा मात्र २० वर्षको उमेरमा चार गोल गर्दै प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको उपाधि समेत पाएका थिए । उनी फिफा विश्वकप, युरोपियन कप, र बालोन डी’ओर जित्ने ९ खेलाडीहरू मध्ये एक हुन् । उनले ३ विश्वकप र २ युरोपियन च्याम्पियनसिपमा पश्चिम जर्मनीको प्रतिनिधित्व गर्दै १ सय ३ अन्तर्राष्ट्रिय खेलमा भाग लिएका थिए । बेकेनबावरले क्लब करियरमा बायर्न म्युनिखका लागि १९६७ मा युरोपियन कप विनर कप र १९७४ देखि १९७६ सम्म लगातार तीनवटा युरोपियन कप जितेका थिए । साथै उनले डिफेन्डरको रूपमा १९७२ र १९७६ मा दुई बालोन डी’ओर अवार्डहरू पनि जितेका थिए । डिफेन्डरको रूपमा यो अवार्ड दुर्लभ मानिन्छ । बेकेनबावरको निधनप्रति अन्तराष्ट्रिय फुटबल जगतले समवेदना प्रकट गरेको छ ।। 

प्रतिक्रिया