खालिदा जिया उपचारका लागि लण्डन प्रस्थान

एजेन्सी । बङ्गलादेश नेशनलिस्ट पार्टी (बी.एन.पी.) की अध्यक्ष खालिदा जिया उपचारका लागि मङ्गलबार साँझ लण्डन प्रस्थान गरेकी छन् । 

ढाका ट्रिब्युनका अनुसार राति ११ः४६ बजे उनी हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल बाट कतारका अमिरले पठाएको विशेष रोयल एयर एम्बुलेन्समा लण्डन प्रस्थान गरेकी हुन् । 

राती ८ बजे आफ्नो गुलशन निवास बाट उपचारका लागि लण्डन तर्फ निस्किएकी ७९ वर्षीय जिया कलेजो सिरोसिस, मुटुरोग, मृगौला लगायत विभिन्न स्वास्थ्य समस्या बाट पीडित छिन् । उनलाई उपचारका लागि लण्डन क्लिनिकमा भर्ना गरिने बताइएको छ ।

जियाका साथमा उनका चिकित्सक, परिवारका सदस्य र सहयोगीहरू थिए भने कतार सरकारका डाक्टरहरूको टोली पनि विमानमा सवार भएको थियो । जियालाई लण्डन लैजान कतारको रोयल एयर एम्बुलेन्स सोमबार साँझ ७ः४० बजे ढाका आइपुगेको थियो ।

जियालाई लण्डन लैजाने तयारी भएको सूचना सँगै उनले प्रस्थान गर्नु अघि ठूलो सङ्ख्यामा बी.एन.पी. नेता र कार्यकर्ताहरू गुलशन स्थित जियाकोे निवास फिरोजा नजिकै भेला भएका थिए। 

बी.एन.पी.का महासचिव मिर्जा फखरुल इस्लाम आलमगीर साँझ सवा ६ बजे फिरोजामा पुगेका थिए भने उनले भेला भएका समर्थक र शुभेच्छुकलाई व्यवस्थित रहन र सडक खाली राख्न आग्रह गरेका थिए । 

लण्डन भ्रमणलाई बी.एन.पी.का वरिष्ठ नेताहरूले राजनीतिक यात्रा भन्दा पनि चिकित्सकीय भ्रमणको रूपमा व्याख्या गरेका छन्। खालिदा जियाले राम्रो स्वास्थ्य सेवा प्राप्त गर्नु र लामो समय पछि आफ्नो परिवार सँग पुनर्मिलन गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको उनीहरूले बताए । 

ढाका ट्रिब्यूनका अनुसार बी.एन.पी.का स्थायी समिति सदस्य तथा वरिष्ठ नेता इकबाल हसन महमुदले बि.एन.पी. नेतृ तथा बङ्गलादेशका पूर्वप्रधानमन्त्री खालिदा जिया आफ्नो उपचार पछि स्वस्थ भई फर्कने र पार्टी र देशको नेतृत्व गरिरहन तयार हुने आशा व्यक्त गरेका छन् ।  

नेता महमुदले जियाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भने, “उहाँ हामी कहाँ स्वस्थ भएर फर्कनु हुनेछ पार्टीको नेतृत्व सम्हाल्नु हुनेछ । हामी सबै उहाँको सशुस्वास्थ्यको प्रार्थना गर्दछौँ ।”
रासस 

प्रतिक्रिया