‘स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्य’

धरान (सुनसरी) । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा (एमाले) र नेपाली कांग्रेस मुख्य प्रतिस्पर्धी भए पनि सरकारको स्थायित्वका लागि सत्ता सहकार्य गरिएको बताएका छन् । 

कांग्रेस धरान उपमहानगर कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सिंहले सहमतिअनुसार दुवै पार्टीले इमान्दार भएर काम गरिरहेको दाबी गरे । 

कांग्रेस नेता सिंहले देश विकास र जनसेवालाई केन्द्रमा राखेर पार्टी नेता तथा कार्यकर्तालाई क्रियाशील हुन आग्रह गरे। 

कार्यक्रममा पूर्वउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्मा, पार्टीका कोशी प्रदेश महामन्त्री उमेश थापा, सुनसरी सभापति श्याम पोख्रेल,  क्षेत्रीय सभापति सुजेन्द्र तामाङलगायतको सहभागिता रहेको थियो ।
रासस
 

प्रतिक्रिया