सिन्धुलीको फिक्कलका उपाध्यक्ष बराल विरुद्ध सहकारी ठगी प्रकरणमा मुद्दा दायर
सिन्धुली । सिन्धुली फिक्कल गाँउपालिकाको उपाध्यक्ष राजु बराल विरुद्ध कालिमाटिस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दायर गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । बराल स्वर्णलक्ष्मी सहकारीका सञ्चालक समिति सदस्य समेत रहेका थिए ।
उनलाई प्रहरीले पक्राउ नगरी फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।उनीसहित यो सहकारीमा ३९ जनालाई प्रतिवादीलाई बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ बिगो मागदाबी गरेको छ ।यसअघि उनीविरुद्ध दुई वटा सहकारीमा मुद्दा दायर गरेको थियो ।
उनीविरुद्ध बुटवलको सुप्रिम सहकारी र काठमाडौं पुतलीसडकमा रहेको नाता बचत तथा ऋण सहकारीमा पनि मुद्दा दायर गरेको थियो । अहिले यी दुबै मुद्दा बिचाराधीन अवस्था छन् ।बराल सहकारीमा जीबी राईको साझेदार रहेको खुल्न आएको छ । २५ माघ २०७२ मा बराल मैत्रेय बचत तथा ऋण सहकारी संस्था रुपन्देहीको सञ्चालक समितिमा थिए ।
३ फागुन २०७२ गतेको विशेष साधारण सभाले सहकारीको नाम परिवर्तन गरेर सुप्रिम बचत तथा ऋण सहकारी संस्था राख्ने निर्णय गरेको थियो।उक्त निर्णयपछि सहकारीको सञ्चालक समिति पनि पुनर्गठन गरेको थियो । सहकारीमा जीबी अध्यक्ष र राजु सचिव रहेका थिए ।सुप्रिम सहकारीले १ हजार बढी बचतकर्ताको करिब १ अर्ब रकम अपचलन गरेको भन्दै २८ जनाविरुद्ध ३ वैशाखमा मुद्दा दायर गरेको थियो ।
सो क्रममा बराल पनि संलग्न देखिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । बराल नाता सहकारीको उपाध्यक्ष रहेका थिए । तर, उनलाई पक्राउ नगरी गत माघमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । त्यतिबेला बरालसहित ११ जनालाई प्रतिवादी बनाउँदै ७२ लाख रुपैयाँ बिगो मागदाबी गरेको थियो ।
तीन वटा सहकारी ठगीका आरोपी बराल उनी एमालेबाट निर्वाचित फिक्कलल गाउँपालिकाका उपाध्यक्ष रहेका थिए ।
प्रतिक्रिया