मिडियाबाट हुने आलोचनाले सरकारलाई सही गन्तव्यमा पुर्‍याउँछ : मुख्यमन्त्री कँडेल

काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकार रचनात्मक सुझावका साथ अघि बढेको बताएका छन् ।

नवनिर्वाचित नेपाल पत्रकार महासंघको कर्णाली प्रदेश तथा सुर्खेत जिल्ला नेतृत्वलाई बधाई तथा शुभकामना दिँदै मुख्यमन्त्री कँडेलले मिडियाले गर्ने रचनात्मक आलोचनालाई सरकारले सहर्ष ग्रहण गर्ने बताए ।

मिडियाबाट हुने स्वस्थ आलोचनाले सरकारलाई सही गन्तव्यमा पुग्न सहज हुने र सरकार सही दिशामा हिँड्ने मुख्यमन्त्री कँडेलको धारणा थियो । प्रेस सधैँ रचनात्मक प्रतिपक्षको भूमिकामा रहने भएकाले सरकारका कमजोरीलाई खबरदारी गर्न मुख्यमन्त्रीले आग्रह गरे । उनले भने, ’तपाईंहरूको रचनात्मक र स्वस्थ खबरदारीले सरकारलाई सहयोग नै पुग्छ ।’

सरकारका कमीकमजोरीहरू र ध्यान नदिइएका विषयहरूमा मिडियाको स्वस्थ र रचनात्मक खबरदारी सरकारका लागि मार्गदर्शन हुने बताउँदै मुख्यमन्त्री कँडेलले मिडियाको खबरदारीले सरकार थप प्रभावकारी बन्ने बताए ।

उनले आमसञ्चार विधेयकको काम अगाडि बढाइएकाले त्यसमा महासंघको तर्फबाट सुझाव दिनसमेत पत्रकारहरूलाई आग्रह गरे ।

सञ्चार क्षेत्रको विकास र प्रवर्द्धनमा प्रदेश सरकारले आफ्नो क्षमताअनुसारका लोक कल्याणकारी विज्ञापन, पत्रकारको स्वास्थ्य तथा उपकरण बीमा र पत्रकारको क्षमता अभिवृद्धिजस्ता कार्यक्रम ल्याएको र त्यसलाई प्रभावकारी सञ्चालनका लागि महासंघले सहजीकरण गर्न मुख्यमन्त्री कँडेलले सुझाव दिए ।

प्रतिक्रिया