देश र जनतालाई केन्द्रमा राखेर सञ्चारकर्मीले काम गर्नुपर्छ : मन्त्री भण्डारी

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले देश र जनतालाई केन्द्रमा राखेर सञ्चारकर्मीले काम गर्नुपर्नेमा जोड दिएका छन् ।

कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा राष्ट्रिय समाचार समिति(रासस)ले आयोजना गरेको तालिमको आज समापन गर्दै उनले राज्यबाट भएका विकास–निर्माणका गतिविधिका साथै सेवा प्रवाहका बारेमा सकारात्मक सूचनालाई पहिलो प्राथमिकतामा राखेर सञ्चारकर्मीले काम गर्नुपर्नेमा जोड दिएका हुन् ।
    
तथ्यहीन समाचारले आमनागरिकमा निराशा पैदा गरेकाले त्यसलाई चिर्नु सञ्चारकर्मीहरुको दायित्व हो भन्दै मन्त्री भण्डारीले देश र जनताका पक्षमा पत्रकारले सशक्त ढङ्गले कलम चलाउनुपर्ने बताए ।

“सङ्घीयता कार्यान्वयनमा आएपछि भएका विकास र परिवर्तनका विषयलाई सही ढङ्गले जनसमक्ष प्रस्तुत नहुँदा नागरिक निराश हुँदै गएका छन् । यहाँ आशावादी कुराभन्दा निराशावादी कुरा गर्दै हिँड्नेहरु धेरै छन् जसले गर्दा समाजमा भ्रम फैलिएको छ, यसलाई चिर्नु पत्रकारको दायित्व हो । पत्रकारले राजनीतिकर्मीलाई रचनात्मक आलोचनाका माध्यमबाट खबरदारी गर्नुपर्छ, सङ्घीयता सेतोहात्ती होइन भन्ने कुरा प्रष्ट पार्दिनुस् ।” मन्त्री  भण्डारीले भने ।

प्रतिक्रिया