टि.आइ.पी.एफ. सम्झौतामा मन्त्री भण्डारी र कोरियाली समकक्षी बीच हस्ताक्षर
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाका समकक्षी इन्क्यो च्योङ बीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्क (टि.आइ.पी.एफ.) सम्झौतामा हस्ताक्षर भएको छ । गणतन्त्र दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापित भएको ५० वर्ष पूरा भएका अवसरमा आज(बिहीबार) दक्षिण कोरियाको राजधानी सोलमा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो ।
मन्त्री भण्डारीले टि.आइ.पी.एफ. सम्झौताले दुई देश बीचको कूटनीतिक, सांस्कृतिक र आर्थिक सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे। उनले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए ।
उनका समकक्षी मन्त्री च्योङले दक्षिण कोरियाली कम्पनीहरु द्वारा नेपालमा जलविद्युत्, अटोमोबाइल एसेम्बल लगायत क्षेत्रमा लगानी गरेको बताए । उनले टि.आइ.पी.एफ. सम्झौताले दुई देश बीचको सम्बन्ध र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने बताए । साथै विगतका सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै दुई देश एक अर्काका सहयात्री बन्नुपर्नेमा जोड दिए ।
नेपाल र कोरियाका निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको सहभागिता रहेको उक्त कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानीको वातावरण र अवसरहरु बारे प्रस्तुतीकरण गरे ।
यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय द्विपक्षीय व्यापार महाशाखा प्रमुख तथा प्रवक्ता बाबुराम अधिकारीले नेपालको व्यापार सम्बन्धी विद्यमान नीति तथा सो सम्बन्धमा हाल भइरहेका सुधारका विषयमा प्रस्तुतीकरण गरे ।
कोरिया नेपाल विजनेश फोरमको उक्त कार्यक्रममा नेपालको सरकारी पक्ष बाट मन्त्रालय, लगानी बोर्ड, सोल स्थित नेपाली राजदूतावास र नेपालको निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरुका तर्फ बाट नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रढकाल सहित करिब ३० जना उद्योगी व्यवसायीको सहभागिता रहेको मन्त्री भण्डारीका स्वकीय सचिव भट्टले जानकारी दिए ।
रासस
प्रतिक्रिया