रविको फोटो रा.स्व.पा.का कार्यकर्ताले बाहिर ल्याए,दोष भने प्रहरीलाई !

काठमाडौं ।  रबि लामिछाने कास्की प्रहरीको हिरासतमा सुतिरहेको फोटो बाहिर ल्याएर भाइरल गराउने  काम राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) कै कार्यकर्ताले गरेको खुलेको छ । 

रा.स्व.पा.का कार्यकर्ता निकोलस भुषालले उक्त फोटो  बाहिर ल्याएको बताएका छन् । उनी केही दिन अघि सहकारी ठगी प्रकरणमा  कास्की प्रहरीको हिरासतमा रहेका रा.स्व.पा का सभापति एवं पूर्व गृहमन्त्री रबि लामिछानेलाई भेट्न पुगेका थिए । कास्की प्रहरी स्रोतका अनुसार प्रहरीले लामिछाने सुतिरहेका र तत्काल भेट्न नमिल्ने बताएपछि भुषालले जसरी पनि भेट्ने जिद्धी गरेपछि प्रहरीले लामिछाने सुतिरहेको विश्वास दिलाउन सीसीटिभीको दृश्य देखाएको थियो । तर कुन मौकामा भुषालले त्यो दृश्यको फोटो खिचे भन्ने प्रहरीले एकिन गर्न सकेको छैन ।

 हिजो बुधबार साँझ रा.स्व.पा.का सह कोषाध्यक्ष दीपक बोहोराले लामिछाने सुतिरहेको फोटो आफ्नो फेस बुकमा पोष्ट गर्दै “अन्याय गर्नुको पनि हद हुन्छ। रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला।” भनेर स्टाटस लेखेका थिए ।

त्यो फोटो बाहिर आएपछि सामाजिक सञ्जालमा ब्यापक चर्चा भयो । बोहोराले भने आफ्नै कार्यकर्ताले बाहिर ल्याएको फोटोलाई प्रहरीले बाहिर ल्याएको भनेर हल्ला मच्चाए । तर निकोलस भुषालले आफूले फोटो सार्वजनिक गरेको बताएका छन् । उता कास्की प्रहरीले भने फोटो खिच्ने व्यक्तिको खोजी भइरहेको बताएको छ । कतिपयले भने  प्रहरीलाई लामिछाने सुतिरहेको फोटो भुषाललाई देखाउनु पर्ने के बाध्यता भयो भन्ने प्रश्न पनि गरेका छन् । भुषालले आफनो वालबाट त्यो फोटो हटाइसकेका छन भने उनले फोटो बाहिर ल्याएकोमा माफी पनि मागेका छन् । उनले आफू रा.स्व.पामा नभएको पनि फेसबुक मार्फत दाबी गरेका छन् । 


 

प्रतिक्रिया