हरिचोक–याम्दी सडक स्तरोन्नतिको काम तीव्र

गण्डकी । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ ।

हाल कालोपत्रका लागि पूर्वाधार तयारीको काम पूरा भएको छ । करिब दुई हजार दुई सय मिटर दूरीको उक्त सडक समयमा कालोपत्र नहुँदा जनगुनासो बढेको थियो । 

पर्वत स्थित लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर किरण सुवेदीले जनगुनासो सम्बोधनका लागि स्तरोन्नतिका काम धमाधम अगाडि बढाइएको र अब कालोपत्रका लागि ‘प्लान्ट’ राख्ने काम भइरहेको बताए ।  उनका अनुसार आगामी माघ भित्र सडक कालोपत्रको काम सम्पन्न हुने गरी प्रक्रिया अगाडि बढेको छ भने नाली, पर्खाल, कल्भर्ट लगायत काम करिब छन् । 

विसं २०७९ साउनमा दुई वर्षमा सक्ने गरी ठेक्का दिइएको यस खण्डमा निर्माण कम्पनीको ढिला सुस्तीका कारण काम सम्पन्न हुन सकेको थिएन । समयमा काम नभए पछि आउँदो चैत सम्मलाई म्याद थप गरिएको छ । आयोजना कार्यालयले ठेक्का तोड्ने चेतावनी दिएपछि निर्माण कम्पनीले काम तीव्र गति अगाडि बढाएका जनाइएको छ । 

यो प्रदेश राजधानी पोखरा जोड्ने मुख्य सडक हो । पर्यटकीय राजधानी समेत रहेको पोखरा प्रवेश गर्ने मुख्य सडकमार्गमा धुलो र हिलोको समस्या हुँदा समस्या भएको भन्दै स्थानीय आक्रोसित छन् । त्यसैले छिटो सडक स्तरोन्नतिको माग गर्दै  स्थानीयले पटक पटक दबाबमूलक कार्यक्रम गर्दै आएका थिए ।   

इन्जिनियर सुवेदीले कालोपत्रका लागि अन्तिम तयारी भइरहेकाले अब उक्त समस्या सधैँका लागि अन्त्य हुने बताए । पोखराको जिरो किमी देखि हरिचोक र याम्दी देखि फेदी सम्मको सडक तीन वर्ष अघि नै कालोपत्र गरिएको थियो । पश्चिम तर्फ पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पूर्व लगायत जिल्ला बाट लोकमार्ग हुँदै दैनिक सयौँ सवारीसाधन पोखरा आउजाउ गर्छन् ।   
रासस 

प्रतिक्रिया