शान्ति सुरक्षा प्रति सरकार संवेदनशिल छ : गृह मन्त्री लेखक
पाल्पा । गृह मन्त्री रमेश लेखकले शान्ति सुरक्षा प्रति सरकार संवेदनशील रहेको बताएका छन् । बुधबार पाल्पाको रामपुर नगरपालिकामा भएको कार्यक्रममा उनले प्रहरी, स्थानीय सरकार प्रति नेपाली जनताको विश्वास र भरोसा थप सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले पालिका प्रमुखहरूले उठाएका माग जायज र जिल्लाका आवश्यकतालाई हेरेर व्यवस्थापनका लागि काम गर्ने प्रतिबद्धता जनाउँदै प्राथमिकताका आधारमा क्रमिक रूपमा समस्याको समाधान गर्दै जाने उल्लेख गरे ।
पाल्पाका स्थानीय तहका प्रमुखहरुले गृह मन्त्री समक्ष शान्ति सुरक्षाको माग गरेका थिए । पालिकाको सुरक्षा व्यवस्था बलियो बनाउन प्रहरी चौकी स्थापना, स्तरोन्नति देखि दरबन्दी सम्मका व्यवस्था सुधारका लागि ध्यानाकर्षण गराइएको थियो ।
रामपुर नगरप्रमुख रमणबहादुर थापाले जनघनत्व बढ्दै जाँदा नगरको शान्ति सुरक्षालाई मजबुत बनाउन प्रहरी दरबन्दी थप गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । कालीगण्डकी करिडोर सडकले रामपुरलाई नारायणगढ, बुटवल, काठमाडौं पोखरा जस्ता ठूला शहरलाई जोडेकाले शान्ति सुरक्षा व्यवस्थामा नगरमा चुनौती थपिएको उनको भनाइ थियो । तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले तराई र पहाडलाई जोड्ने सिद्धार्थ राजमार्गको तिनाउमा प्रहरी चौकी स्तरोन्नति, नुवाकोटमा अस्थायी प्रहरी चौकी स्थापना गर्न माग गरे ।
रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले पनि पालिकामा शान्ति सुरक्षामा सहजता हुने गरी व्यवस्था गर्नुपर्ने बताए । माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले प्रहरी चौकी भए पनि दरबन्दी कम रहेकाले स्तरोन्नतिका लागि गृह मन्त्रीलाई अनुरोध गरे । रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण जिसीले कागजमा अधिकार उल्लेख भए पनि काम गर्न कठिनाइ रहेकाले यसमा सहजीकरण आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारु, तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ लगायत जिल्लाको शान्ति सुरक्षा, पर्यटकीय स्थलहरु रानीमहल दरबार, अर्गली दरबार, सेन दरबार जस्ता महत्वपूर्ण ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार र यसको बृहत् विकासका लागि मन्त्रालय बाट सहयोगको अपेक्षा व्यक्त गरेका छन् ।
रासस
प्रतिक्रिया