‘संविधान पालना गर्नु सबैको दायित्व’
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधान पालना गर्नु सबैको दायित्व रहेको बताएका छन् ।आज बुधबार जिल्ला समन्वय समिति मकवानपुरको आर्थिक वर्ष २०८०/८१ को वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा विकास गर्ने निकाय वर्तमानमा समन्वयको भूमिकामा रहेको बताए ।
उक्त भूमिकालाई न्यायोचित रूपमा अघि बढाउन उनले सबैलाई आग्रह गरेका छन् । “नेपालको संविधान २०७२ को धारा २२० ले निर्दिष्ट गरेअनुसार समन्वय समितिको गठनको व्यवस्था छ । उक्त संरचनाले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्नेछ”, उनले भने, “हामीले बोलेर होइन गरेर देखाउनुपर्छ ।
” कार्यक्रममा वित्तिय सुशासन जोखिम मूल्याङ्कनका आधारमा प्रथम स्थान प्राप्त थाहा नगरपालिका र मनहरी गाउँपालिका, द्वितीय स्थान प्राप्त हेटौँडा उपमहानगरपालिका र तृतीय स्थान प्राप्त मकवानपुरगढी गाउँपालिका र कैलाश गाउँपालिकालाई सम्मान गरिएको थियो ।
जिससले विभिन्न विधामा २४ जनालाई सम्मान गरेको छ । जिसस प्रमुख ललितबहादुर घलानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य कुमारी मोक्तान, एकालाल श्रेष्ठ, हेटौँडा नगर प्रमुख मीनाकुमारी लामालगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया