निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा सी.आई.बीले थाल्यो अनुसन्धान

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छलफल शुरु गरेको छ ।

(सीआईबी)ले पन्तको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूसँग छलफल थालेको हो । अनुसन्धानमा खटिएका अधिकृतहरूसँग छलफल गरेर एउटा निष्कर्ष निकालेर नयाँ कोणबाट फेरि अनुसन्धान अघि बढाउन लागिएको बताइएको छ ।

हिजो मंगलबार मात्रै केही प्रहरी अधिकारीलाई सीआईबीको लाजिम्पाटस्थित कार्यालयमा बोलाएर छलफल गरिएको थियो । छलफल सकेर एउटा निचोड निकालेपछि अनुसन्धानका लागि नयाँ टोली पठाइने सीआईबीले जनाएको छ ।

गत साउन १० गते मात्रै पन्तको बलात्कार–हत्या भएको ६ वर्ष पूरा भएको छ । तर अहिलेसम्म हत्यारा पत्ता लगाउन प्रहरीले सकेको छैन । ६ वर्षको अवधिमा ५ जना गृहमन्त्री र प्रहरी प्रमुख फेरिए, ६ वटा समिति बने, तर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।

२०७५ साउन १० गते साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् ।

घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै भएको आन्दोलनका क्रममा भीमदत्त–१८ का १५ वर्षीय सनी खुनाको ज्यानै गएको थियो । यो बीचमा १ सय २४ जनाको डीएनए जाँच, ६ सय ५५ जनासँग सोधपुछ गरिए पनि नतिजा शुन्य छ ।

प्रतिक्रिया