व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा सभामुखको जोड
गण्डकी । सभामुख देवराज घिमिरेले व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
१०औँ अन्तरव्यवस्थापिका सम्मेलनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उनले संसद्को काम प्रभावकारी भए सरकारको काम पनि प्रभावकारी हुने बताएका हुन् ।
सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न सम्मेलनमा व्यवस्थापिकाको सक्रियता बढाउन महत्वपूर्ण छलफल गरिएको जानकारी दिँदै सभामुख घिमिरेले सङ्घीयता एवं संविधान कार्यान्वयनलाई तीव्रता दिन सङ्घ, प्रदेश र स्थानीय तहको साझा सूची निर्माण गरिने बताए । सरकारसँग परामर्श गरी सङ्घ र प्रदेशसभासँग सम्बन्धित ऐन तथा नियम बनाउने उनले जानकारी दिए ।
सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित ऐनकानुन निर्माणमा ढिलाइ गर्न नहुने बताउँदै उनले संसद्को आगामी अधिवेशनले ती कानुन पारित गर्ने विश्वास व्यक्त गरे ।
सम्मेलनमा प्रतिनिधिसभा, राष्ट्रियसभाका साथै सातै प्रदेशका सभामुख, उपसभामुख, सचिवलगायत सहभागी थिए ।
प्रतिक्रिया