सहकारी ठगीमा लेखा समिति सभापतिकी पत्नी विरुद्ध पक्राउ पुर्जी जारी

विराटनगर । मोरङको धनपालथान गाउँपालिकास्थित उमा–गौरी सहकारीको रकम अपचलन मुद्दाका प्रतिवादी संघीय संसद्को लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइराला विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

जिल्ला अदालत मोरङले मंगलबार कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालयले कोइरालासहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

त्यसअघि २४ भदौमा सहकारी रजिस्ट्रार कार्यालय कोशीले पोखरेल पत्नीको नाम काटेर अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण शाह, सचिव आलम अन्सारी मियाँ, कोषाध्यक्ष शम्भुप्रसाद सिंह तथा सदस्यहरू आमोद मण्डल, रोशन राजवंशी र जीतमान ठाकुरको नाम अनुसन्धान गर्न प्रहरीलाई पठाएको थियो ।

त्यस्तै, लेखा समिति संयोजक विजयकुमार यादव, सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र ओशककुमार विश्वासको नाममा समेत थप अनुसन्धानका लागि प्रहरीमा पत्र पठाइएको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनउपर अभियोजन गरेर सरकारी वकिलको कार्यालय मोरङले गत शुक्रबार पोखरेलपत्नी अञ्जला र सहकारीका अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध २२ करोड बिगोसहित मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया