ललितपुरका नगर प्रहरीले गरिबको ठेला फ्याकेका छैनन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर महानगरका प्रहरीको प्रशंसा गरेका छन् ।

ललितपुर महानगरको स्थापना दिवसको अवसरमा आयोजिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ललितपुर नगर प्रहरीले जनताको ठेला नफ्याँकोले भन्दै प्रशंसा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘ललितपुर नगर प्रहरी सम्मानित हुनुभएको छ, म धन्यवाद भन्न चाहन्छु । किनकि ललितपुर नगर प्रहरीले गुर्र जिपमा कुँदेर, अर्कै लोकको केही आए झैं गरेर कुँदेर, झ्याप गाडी रोकेर, सिठ्ठी बजाउँदै आतंक छाउँदै, ठेला फाल्दै, गरिबका तरकारी, टमाटर फाल्दै यस्तो गरेको मैले देखेको छैन ।’

उनले नगर प्रहरी आतंकको पर्याय नभएको पनि बताए । उनले थपे, ‘तपाईंहरुले जनताका लागि त्रास फिजाउने होइन । तपाईंहरुलाई देख्दा जनताले सुरक्षित महसुस गरुन् । तपाईंहरु जाँदा जनताले हाम्रा रक्षकहरु आए भन्ने ठान्नुपर्छ । ताकि लौ आयो, कता भागौं, के गरौं भन्ने हुनुहुँदैन । कोही घडी फुकालेर लुकाउन थाल्ने, कोही सिक्री लुकाउन थाल्ने, यस्तो अवस्था नहोस् ।’

उनले सबै तहका सरकारहरु जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताए । जनप्रतिनिधि र कर्मचारीले घमण्ड र तनाव नलिइ सेवाभाव प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया