खाद्य कम्पनी द्वारा सिरहामा धान खरिद शुरु

सिरहा । सिरहा स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय लहानले आज (बुधबार) देखि धान खरिद प्रक्रिया शुरु गरेको छ । कम्पनीले सिरहा, सप्तरी र उदयपुरका किसानद्वारा उत्पादित धान बर्सेनि खरिद गर्दै आएको हो ।

यस वर्ष २५ हजार क्विन्टल सोना मन्सुली र १० हजार क्विन्टल जिरा मसिनो (कतर्नी) धान खरिद गरिने कार्यालय प्रमुख दीपक सुनारले जानकारी दिए ।  । उनका अनुसार यस वर्ष सरकारले सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा र जिरा मसिनो (कतर्नी) धान प्रतिक्विन्टल चार हजार दुई सय तोकेको छ ।

जिल्ला प्राथमिक धान खरिद समितिको बैठकबाट निर्णय भए अनुसार समर्थन मूल्यमा धान खरिद गरिने प्रमुख सुनारले बताए ।  “सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको अध्यक्षतामा धान खरिद समितिको बैठक बाट निर्णय गरी आज देखि खरिद प्रक्रिया शुरु गरिएको छ । खाद्य कम्पनीले तोकिएको मापदण्ड पूरा गरेर ल्याइएका धानको चेक मार्फत किसानलाई भुक्तानी गर्ने व्यवस्था मिलाएका छौँ”, उनले भने ।

प्रमुख सुनारका अनुसार प्रति किसान अधिकतम एक सय क्विन्टल धान कम्पनीले खरिद गर्नेछ । सार्वजनिक बिदाको दिन बाहेक कार्यालय समयमा किसानको धान खरिद गरिने खाद्य कम्पनीले जनाएको छ । 

सरकारले दिने मूल्य भन्दा स्थानीय व्यापारीले दिने मूल्य बढी भएकाले किसानहरू व्यापारीलाई धान बिक्री गर्न आकर्षित भएका राष्ट्रिय कृषक समूह महासङ्घ, मधेश प्रदेशका निवर्तमान अध्यक्ष मुक्तिनारायण यादवले बताए ।  किसानको उत्पादनको उचित र वैज्ञानिक मूल्य नदिएर सरकारले किसानलाई अन्याय गरेको उनको भनाइ छ ।
रासस 

प्रतिक्रिया