केराखेती बाट वार्षिक १ करोड ५० लाख आम्दानी

पर्वत । जिल्लाको कुश्मा नगरपालिका स्थित ज्ञादी क्षेत्रमा व्यावसायिक रूपमा गरिएको केराखेती बाट वार्षिक १ करोड ५० लाख सम्म आम्दानी भइरहेको छ ।  
    
यहाँका कृषकले धानखेती मासेर सात वर्ष देखि व्यावसायिक रूपमा केराखेती गर्दै आएका छन् । पीपलटारी र कटुवाचौपारीका ६५ कृषकले एक हजार रोपनी क्षेत्रफलमा व्यावसायिक केरा उत्पादन गर्दै आएका हुन् । 

वि.सं २०५२ मा चितवनको राप्ती किनार बाट बिरुवा ल्याएर लगाइएको केराका बोट अहिले कृषकको प्रमुख आम्दानीको स्रोत बन्दै गएको हो । सोही बीउलाई आर्थिक वर्ष २०७६÷७७ देखि ‘केरा ब्लक’मा विस्तार गरी व्यावसायिक उत्पादन थालिएको ज्ञादी केरा ब्लकका संयोजक बाबुराम शर्माले जानकारी दिए । रोग प्रतिरोधात्मक क्षमता बढी रहेको फुस्रे जातको केरा लगाएर कृषकले गाउँमा वार्षिक १ करोड ५० लाख सम्म भित्र्याउने गरेका उनले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत केरा ब्लकका रूपमा यस क्षेत्रलाई विस्तार गरेपछि यहाँका कृषक केराखेती तर्फ आकर्षित भएका संयोजक शर्माले उल्लेख गरे । जिल्ला स्थित परियोजना कार्यान्वयन इकाई मार्फत कृषकहरूलाई केराका बिरुवा, यान्त्रिकरण, विषादी, प्राविधिक सहयोगका साथै केरा रोप्न अनुदान लगायतमा ८१ लाख सहयोग गरिएको उनले जानकारी दिए ।

अनुदानमा बिरुवा पाएपछि कृषकहरू धान, कोदो छाडेर केराखेतीमा आकर्षित भएका केरा ब्लकका संयोजक शर्माले बताए ।  उनका अनुसार यहाँ उत्पादित केरा सदरमुकाम कुश्मा, बागलुङ, साइकलचोक, फलेबास, मालढुङ्गा, पातीचौर लगायत बजारमा खपत हुने गरेको छ ।

गाउँमा पक्की सडक विस्तार भएकाले बिक्रीका लागि बजार लैजानुपर्ने अवस्था नरहेको कृषक दीपक सुवेदीले बताए । केरा व्यापारी गाडी लिएर केराको बगैँचा सम्म आउने र सिधै लोड गरेर लैजाने भएकाले बजारीकरणको समस्या नरहेको उनले उल्लेख गरे । 

युवापुस्ताको विदेश पलायन सँगै बाँझिदै गरेको जमिनमा केराखेती गरेपछि नियमित आम्दानी हुनुका साथै जमिन उर्वर बनेको कृषक शोभनाथ लामिछानेले बताए ।  उनका अनुसार एउटै बोटमा चार सय कोसासम्म केरा फल्ने गरेका छन् । हरेक कृषकले न्यूनतम  ५० हजार देखि ३ लाख सम्म आम्दानी गर्दै आएको उनले जानकारी दिए ।

कम जनशक्ति, न्यून लागत र एकपटक लगाए पछि वर्षौं सम्म फाइदा लिन सकिने भएकाले गाउँका अधिकांश कृषक केराखेतीमा लागेका कृषक लामिछानेले बताए । प्रत्येक कृषकले न्यूनतम पाँच देखि १० रोपनी सम्म क्षेत्रमा खेती गरिरहेका छन् ।

केरा बिक्री गरेर मात्रै धेरै आम्दानी नसकिएको भन्दै कृषकले वैकल्पिक योजना बनाएका छन् । केराको रेसा बाट धागो, पात र बुङ्गो बाट टपरी बनाएर स्थानीय महिलालाई पनि स्वरोजगार बनाउने तयारी भइरहेको कुश्मा–१० पीपलटारीका वडाध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिए । 

कृषकलाई गत वर्ष केराको अचार उत्पादन सम्बन्धी तालिम पनि दिइसकिएको भन्दै कतिपयले अचार बनाएर बिक्री गर्न थालेका उनले बताए । कृषकहरू केराखेती बाट पूर्ण रूपमा आत्मनिर्भर भइनसकेका बताउँदै वडाध्यक्ष सुवेदीले केराको फलका साथै थाम, पात र बुङ्गो प्रशोधन गर्न आवश्यक तालिम र यन्त्र उपकरणको माग सङ्घीय सरकार सँग गरिएको जानकारी दिए । 

केराखेती विस्तार गरिएपछि गाउँमा जग्गा बाँझो हुनेक्रम हट्दै गएको बताउँदै कृषकहरूलाई प्रोत्साहन नगरपालिकाले विभिन्न योजनाहरू बनाइरहेको उनले उल्लेख गरे । 
रासस 

प्रतिक्रिया