सागसब्जीका बेर्ना बेचेर वार्षिक २६ लाख आम्दानी

स्याङ्जा । यहाँका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर  २६ लाख आम्दानी गरेका छन् । 

वालिङ नगरपालिका–६ लालुपातेका किसान रेशम रेग्मीले मौसमी तथा बेमौसमी सागसब्जी र बेर्ना बिक्री गरेर लाखौं आम्दानी गर्न सफल भएका हुन् । उनले अघिल्लो वर्षको कात्तिक देखि यस वर्षको कात्तिक सम्ममा उत्पादन भएका सागसब्जी बिक्री बाट  २० लाख र बेर्ना बिक्री बाट  छ लाख आम्दानी भएको बताए । 

उनले खेत तथा बारीमा काउली, बन्दा, गोलभेँडा, सिमी, बोडी, काक्रा, भण्टा, भिण्डी, मुला, खुर्सानी, प्याज लगायत सागसब्जी तथा बेर्ना बिक्री गर्दै आएका छन् । विसं २०५२ बाट व्यवसाय थालेका  रेग्मीले २०७४ सालमा ‘समर्पण कृषि फार्म’ दर्ता गरे ।  व्यावसायिक रूपमा तरकारी तथा नर्सरी व्यवसाय गरेको २० रोपनी मध्ये आधा आफ्नै र आधा भाडामा लिएका छन् । “बीस रोपनी जग्गा मध्ये झण्डै दुई रोपनीमा चार वटा टनेलमा नर्सरी छ र त्यहाँ विभिन्न प्रजातिका बिरुवा उत्पादन हुँदै आएको छ, बाँकी जग्गामा मौसम अनुसारका तरकारी बाली लगाउँदै आएको छु”, उनले भने । 

यहाँ उत्पादित सागसब्जी तथा बेर्ना पोखरा, स्याङ्जा, वालिङ तथा बुटवलमा बिक्री हुने गरेको छ । बाल्यकाल देखि कृषि पेशाप्रति इच्छा भएकाले लागे तापनि केही वर्ष पछि खेती सम्बन्धी तालिमले झनै निखारता ल्याएको उनले बताए । 

कहिलेकाहीँ भारत तथा तराई बाट आउने सागसब्जीसित बजार प्रतिस्पर्धा गर्नुपर्दा गाह्रो भए पनि समग्रमा आफू यो पेशा बाट सन्तुष्ट रहेको उनले बताए । कृषि ज्ञान केन्द्र लगायत कृषि क्षेत्रमा सक्रिय सङ्घसंस्थाले समय समयमा प्राविधिक ज्ञान दिने गरेकाले  व्यवसाय सञ्चालनमा सहज भएको उनी बताउछन् ।  कृषिकर्ममा उदाहरणीय कार्य गरेकामा २०७६ सालमा उनी  राष्ट्रपति बाट पुरस्कृत पनि भएका थिए । 
रासस 

प्रतिक्रिया