राजस्व सङ्कलनको लक्ष्य पूरा गर्ने तर्फ उन्मुख वीरगञ्ज भन्सार

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय राजस्व सङ्कलनको लक्ष्य हासिल गर्ने तर्फ दत्तचित्त भएर लागेको छ । उक्त कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा ३८ अर्ब ८८ करोड २७ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ । 

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पछिल्ला तीन महिनामा राजस्व सङ्कलनमा केही वृद्धि भए पनि लक्ष्य हासिल गर्न नसकिएको बताएका छन् । “साउनयता मासिक लक्ष्य अनुसार राजस्व सङ्कलनमा केही वृद्धि भइरहेको छ”, उनले भने । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा भने करिब  तीन करोड बढी राजस्व सङ्कलन भएको छ ।

भन्सार कार्यालयले गत आर्थिक वर्षको २०८०÷८१ को तीन महिनाको अवधिमा भने  ३८ अर्ब ८५ करोड ५० लाख ९३ हजार राजस्व सङ्कलन गरेको थियो । कार्यालयले  चालु आर्थिक वर्षको साउनमा मासिक लक्ष्यको ७२ प्रतिशत अर्थात १२ अर्ब १६ करोड ३२ लाख राजस्व सङ्कलन गर्यो । 

दोस्रो महिना भदौमा भने मासिक लक्ष्यको ७१ प्रतिशत अर्थात्  १३ अर्ब २३ करोड ९८ लाख राजस्व सङ्कलन गरेको छ ।  चालु आर्थिक वर्षको तेस्रो महिना असोजमा मासिक लक्ष्यको ७७ प्रतिशत अर्थात १३ अर्ब ४७ करोड ९६ लाख राजस्व सङ्कलन गरेको छ ।

भन्सार कार्यालयले गत आर्थिक वर्षको साउनमा भने मासिक लक्ष्यको ७५ दशमलव ९६ प्रतिशत अर्थात ११ अर्ब ८६ करोड ८४ लाख राजस्व सङ्कलन गरेको थियो । 

गत आर्थिक वर्षको दोस्रो महिनामा  मासिक लक्ष्यको ६५ दशमलव ५९ प्रतिशत अर्थात १२ अर्ब ७१ करोड २२ लाख राजस्व उठाएको थियो । यसैगरी, गत आर्थिक वर्षको तेस्रो महिना असोजमा भने मासिक लक्ष्यको ६५ दशमलव ३५ प्रतिशत अर्थात १४ अर्ब २७ करोड ४४ लाख राजस्व सङ्कलन गरेको थियो ।
रासस 

प्रतिक्रिया