आज देखि ट्रायल पास पछि मोबाइलमै लाइसेन्स

काठमाडौं । आइतबार देखि सवारीचालक अनुमतिपत्र लाइसेन्सको ट्रायल पास गरेपछि चालकको मोबाइलमै लाइसेन्स आउने भएको छ । 

नौ वर्ष देखि माग अनुसार कार्ड छपाइ हुन नसकेर वर्षौं कुर्नुपर्ने समस्या भए पछि सरकारले तत्कालका लागि नागरिक एप मार्फत मोबाइलमै डिजिटल लाइसेन्स पठाउने भएको हो । आइतबार औपचारिक कार्यक्रम गरी बागमती प्रदेशमा नागरिक एपबाट डिजिटल लाइसेन्स वितरण गर्न लागिएको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्री के.पी. शर्मा ओलीले शनिबार आफ्नो फेसबुक मार्फत अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको बताएका थिए ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले पाँच महिना देखि नागरिक एपमा लाइसेन्स वितरणको परीक्षण गर्दै आएको छ । परीक्षणको सफलता पछि सबै संरचनालाई डिजिटल बनाएर सुरु गर्न लागिएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले डिजिटल लाइसेन्स जाँच गर्न ट्राफिक प्रहरीलाई मोबाइल उपलब्ध गराएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागरिक एपमा लाइसेन्स छ भने प्रिन्टकपी नखोजिने जनाएको छ ।
रासस  

प्रतिक्रिया