दशैंमा पर्यटन विभाग र बोर्डले सेवा सञ्चालन गर्ने

काठमाडौं । बडादशैंमा पर्यटकको सेवालाई मध्यनजर गरी पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले सेवालाई निरन्तरता दिने भएको छ । दुवै निकायको अत्यावश्यक सेवा सञ्चालन हुने जनाएको हो । बोर्डका निर्देशक मणिराज लामिछानेले भने विजयादशमीको टीकाको दिन सार्वजनिक विदा परेकाले त्यसदिनबाहेक सबैदिन कार्यालय आधा समय खुल्ने भएको छ ।

बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) सहयोग केन्द्र र पर्यटक सूचना केन्द्र सञ्चालन हुने भएको छ ।विभागको अत्यावश्यक सेवाका रुपमा रहेको पर्वतारोहण अनुमतिलाई निरन्तरता दिने विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए ।

उनका अनुसार पर्वतारोहणको सन् २०२४ को शरद् ऋतुको मध्य अवस्थामा चलिरहेकाले आरोहणको व्यस्त याममा दशैंमा आरोहण अनुमति, ‘ब्रिफिङ’ तथा ‘डिब्रिफिङ’ निरन्तर सञ्चालन हुने विभागले जनाएको छ । सार्वजनिक बिदाको दिनसमेत विभागको काम यथावत् रहने जनाइएको छ । दशैंलगायत महत्वपूर्ण चाडपर्वसँगै पर्यटकीय याम पनि भएकाले हाल पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढेको बोर्डले जनाएको छ ।
 

प्रतिक्रिया