‘खगोलीय ज्ञान फराकिलो बनाउन नीतिगत निर्णय गरिने’

काठमाडौं ।  वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले खगोलीय ज्ञान फराकिलो बनाउन मन्त्रालयले नीतिगत निर्णय गर्ने बताएकी छिन् ।मन्त्रालयको समेत सहयोगमा सम्पन्न ‘एष्ट्रोनोमी’ र ‘एष्ट्रोफिजिक्स’सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय ओलम्पियाडको समापन समारोहलाई आज बुधबार यहाँ सम्बोधन गर्दै उनिले विद्यार्थीको बौद्धिक क्षमता वृद्धि गराउन मन्त्रालयले खगोलीय ज्ञान प्रवर्द्धनमा काम गर्ने प्रतिबद्धता जनाइन् ।

“खगोलमा हुनुपर्ने जति काम गर्न नसकिएकामा म चिन्तित छु, अब मन्त्रालयका विज्ञान महाशाखाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी काम हुनेछ, यो विषयसँग सम्बन्धित संस्थासँगको सहकार्यमा खगोलसम्बन्धी अध्ययन, अनुसन्धानका काम हुनेछ, विद्यालय तहदेखि विद्यार्थीलाई खगोलको ज्ञान दिनुपर्छ”, उनिले भनिन ।

युरोपमा हुने गरेको ओलम्पियाड एसियामा पहिलोपटक नेपालले आयोजना गर्ने अवसर पाएको हो । असोज १८ गतेदेखि सुरु ओलम्पियाड आज बुधबार समापन भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको ओलम्पियाडमा १९ देशका २१ समूहले भाग लिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचानसम्बन्धी यो प्रतियोगितामा भाग लिन विभिन्न देशबाट एक सय जना विद्यालय तहका विद्यार्थी नेपाल आएका थिए ।

प्रतिक्रिया