सशस्त्र प्रहरीद्वारा २१ लाख मूल्य बराबरका लत्ताकपडा बरामद

वीरगञ्ज ।  सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले भन्सार छली गरेर गोदाममा राखेको रु २१ लाख २१ हजार आठ सय मूल्य बराबरको लत्ता कपडा बरामद गरेको छ ।सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ नगवा नयाँवस्तीस्थित भारतबाट भन्सार छली ल्याएर घरमा लुकाइछिपाइ राखेको तीन वटा गोदामबाट सो परिमाणमा लत्ताकपडा बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रहरी नायब उपरीक्षक नरेन्द्रसिंह धामीले भन्सार छली गरेर तीन वटा घरमा लुकाइ राखेको अवस्थामा लत्ताकपडा बरामद भएको जानकारी दिए । सशस्त्र प्रहरीले बरामद लत्ताकपडा र डिसी प्रोटिन पाउण्डर बिहीबार नै वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलको सक्रियतापछि भन्सार छली गरेका सामान तथा बिलबिजक नभएका सामानको बरामद ह्वात्तै बढेको तथ्याङ्कले देखाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले गत आर्थिक वर्ष २०८०/८१ मा रु ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्य पर्ने बिलबिजक नभएको र भन्सार छलीका सामान बरामद गरेको छ ।

जसमध्ये सशस्त्र प्रहरी बल पर्साले रु १४ करोड ८९ लाख ४८ हजार पाँच सय ५६ मूल्य बराबरको सामान वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको छ । सोही अवधिमा बिलबिजक अनुसार नभएका रु १९ करोड १६ लाख ९६ हजार नौ सय ७५ मूल्य बराबरका सामान बरामद गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । सशस्त्र प्रहरीले आव २०७९/८०मा भने रु २४ करोड ३८ लाख ४० हजार नौ सय ३१ मूल्य बराबरको सामान बरामद गरेको थियो । प्रहरीले बरामद गरेको सामग्रीमा सबैभन्दा धेरै पेयपदार्थ, लत्ताकपडा, प्याज र मेसिनरी पार्टपुर्जा रहने गरेको छ ।
 

प्रतिक्रिया