दशैं अविधमा यस्तो छ मौसम

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज यसपालिको दशैं विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ । बुलेटिनमा कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।

उक्त बुलेटिनअनुसार यस वर्ष दसैँको सप्तमी (२४ गते), अष्टमी र नवमी (२५ गते) र दशमी (२६ गते) का दिनमा कोशी प्रदेश र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।

विभागले कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने अनुमान गरेको छ ।बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । उक्त दिनहरुमा अधिकांश स्थानमा अधिकतम तथा न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।

उनले ठूलो पानी पर्ने सम्भावना भने नरहेको बताए । मौसम पूर्वानुमान महाशाखाबाट जारी गर्ने तीनदिने मौसम पूर्वानुमानमा यससम्बन्धी जानकारी अद्यावधिक गर्ने भएकाले महाशाखाको ‘वेबसाइट’ हेर्न अनुरोध गरिएको छ ।यस वर्षको मनसुन हिजो मङ्गलबार देखिनै काठमाडौँ उपत्यकासहित कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भू–भागबाट बाहिरिसकेको छ ।

महाशाखाका अनुसार बागमती प्रदेशको पश्चिमी भू–भाग र मधेस प्रदेशका पश्चिमी भू–भागका थोरै स्थानहरूबाट पनि मनसुन बहिर्गमन भएको छ । हाल कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव बाँकी छ । नेपालमा यही असोज २० गतेदेखि मनसुन बहिर्गमन सुरु भएको थियो । यस वर्षको मनसुन गत जेठ २८ गते भित्रिएको थियो ।

प्रतिक्रिया