दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले ५१ लख रुपैयाँ हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई सङ्घका अध्यक्ष डा. बद्री के.सी. सहितको प्रतिनिधि मण्डलले उक्त रकम हस्तान्तरण गरेको हो । अध्यक्ष डा. के.सी.ले हालैको बाढीपहिरो र डुुबानको खबरले आफूहरु दुःखित हुँदै कोषमा सहयोगका अतिरिक्त प्रभावित क्षेत्रमा  एक करोड बराबरको राहत उपलब्ध गराउने कार्य भइरहेको जानकारी दिए । उनले ‘एनआरएनए नागरिकता’ प्राप्त भएपछि आर्थिक र सामाजिक काममा पनि त्यसको प्रयोगमा समस्या रहेको गुनासो गरे । 

प्रधानमन्त्री ओलीले विपद्का समयमा मानवीय सहयोग गरेकामा सङ्घलाई धन्यवाद दिँदै एक पटकको नेपाली सधँैको नेपाली हुने भए पनि विदेशको नागरिकता लिएपछि नेपालमा राजनीतिक अधिकार प्रयोग गर्न नमिल्ने स्पष्ट गर्दै दोहोरो नागरिकता समस्याको समाधानका लागि गम्भीर छलफल आवश्यक पर्ने बताए ।

प्रधानमन्त्री ओलीले  सङ्घको स्थापना पूर्वदेखि नै नेपालको समृद्धिमा गैह्रआवासीय नेपालीको भूमिकाका लागि आफू लागेको उल्लेख गर्दै कामका लागि विदेश गएकालाई एनआरएनएको परिभाषामा नराख्न आग्रह गरे । प्रधानमन्त्रीले सङ्घलाई राजनीतिक आधारमा नभइ सबै गैह्रआवासीय नेपालीको साझा संस्थाका रुपमा अघि बढाउन सुुझाव दिए । 

यसैगरी आजै मंगलबार विद्युत् उत्पादन कम्पनी लिमिटेडका अध्यक्ष सुरेश आचार्यबाट कम्पनी र त्यहाँका कर्मचारी समेतबाट  ६ लाख ४६ हजार पाँच सय तथा नेपाल इन्स्योरेस्स कम्पनी, भारतबाट  १० लाख कोषमा हस्तान्तरण भएको छ ।
 

प्रतिक्रिया