ऊर्जामन्त्री खड्काले मागे कुलमान घिसिङसंग स्पष्टीकरण

घिसिङलाई थाहा नै नदिई बोलाएको बोर्ड बैठक आफैँले गरे स्थगित

काठमाडौं । सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत सिंचाईमन्त्री दीपक खड्काले घिसिङलाई स्पष्टीकरण सोधेका हुन् । मन्त्रालयले घिसिङसँग विगत चार वर्षमा प्राधिकरणबाट भए गरेका सबै काम, सहमति सम्झौता, कर्मचारी र वित्तीय विवरण मागेको छ । 

डेडिकेटेड फिडर तथा ट्रंकलाइनका विषयमा प्राधिकरणको सञ्चालक समितिमा पेश भएका विवरणहरु र सञ्चालक समितिले गरेका निर्णयहरु पनि मन्त्रालयले मागेको छ । 

साथै, प्राधिकरणका सहायक कम्पनीका ४ वर्षको वित्तीय विवरण, विगत ५ वर्षका केन्द्रीय स्टोर प्रमुखको विवरण, फर्छ्यौट हुन बाँकी बेरुजको अध्यावधिक विवरण, विगत ४ वर्षमा सञ्चालक समितिका सदस्यहरुको विदेश भ्रमणको विवरणलगायतका विवरण मागेको छ ।
मंगलबार कार्यकारी निर्देशक घिसिङलाई मन्त्रालयले पत्र पठाउँदै १५ दिनभित्र लिखित जवाफ दिन भनेको हो । 

ऊर्जा मन्त्रालयले सोधेको स्पष्टीकरणका विषयमा छलफल गर्न प्राधिकरणको सञ्चालक समितिको बोर्ड बैठक बुधबार बिहानका लागि बोलाइएको थियो । यसैबिच मन्त्री खड्काले प्राधिकरणको बोर्ड बैठक बोलाएर एक्कासि स्थगित  गरेका छन् । घिसिङलाई थाहा नै नदिई बोलाएको प्राधिकरणको बोर्ड बैठक अन्तिम समयमा आएर मन्त्री आफैँले स्थगित गरेका हुन् । 

प्रतिक्रिया