डाइभर्सन बनेपछि हेवा खोलामा यातायात सुचारु

फिदिम । बाढीले बेलिब्रिज बगाएपछि असोज १२ गतेदेखि आवागमन ठप्प भएको मेची राजमार्गस्थित हेवा खोलामा बुधबार बिहानदेखि आवागमन सुरु भएको छ ।

सडक डिभिजन इलामले डाइभर्सन निर्माण गर्ने काम सकेसँगै हेवा खोलामा सवारी र ढुवानीका साधन तर्न थालेका हुन् । मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालिका –४ र हिलिहाङ गाउँपालिका –७ लाई सिमाना छुट्याएर बग्ने हेवा खोलामा गतवर्ष मात्र निर्माण गरिएको बेलिब्रिज असोज १२ गते आएको बाढीले बगाएको थियो ।

बेलिब्रिज बगेपछि मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक ठप्प भएको थियो । दसैंको मुखमै खोलाबाट सामग्री तारेर लैजान नसक्दा हेवा पारिको पाँचथरसँगै ताप्लेजुङ जिल्लामा खाद्यान्न र उपभोग्य वस्तु अभाव हुन थालेको थियो ।

असोज १४ गते डाइभर्सन गर्न थालेको सडक डिभिजनले ढिलागरी निर्माणकार्य सम्पन्न गरेको थियो । चार दिन अघि नै काम सक्ने भने पनि ह्युमपाइप पूरा नआउँदा काममा ढिलाइ भएको सडक डिभिजन प्रमुख पवन भट्टराईले बताउनुभयो । डाइभर्सनको काम सकिएलगत्तै हेवा खोला वारी पारी रोकिएका साधन आफ्नो गन्तव्यमा लागेका छन् ।

प्रतिक्रिया