संविधान खारेज गर्ने उद्देश्यले संशोधनको हल्ला चलाइएको प्रचण्डको आरोप

रविलाई पक्राउ गर्नुपर्ने पर्याप्त आधार नभएपछि सरकार पछि हटेको जिकिर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले संविधान संशोधनको नाममा संविधान खारेज गर्ने लक्ष्यमा रहेको आरोप लगाएका छन् ।बुधबार सम्पादकहरुसँगको छलफलका क्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले संविधान खारेज गर्ने उद्देश्य पुरा गर्न अहिले संशोधनको हल्ला चलाइएको आरोप समेत लगाए ।
उनले अहिले संविधान संशोधनको विषय उठाए पनि एमालेको उद्देश्य त्यस्तो नरहेको टिप्पणी गरे ।

उनले भने, ‘अहिले बनेको सरकारको मूल उद्देश्य संविधान संशोधन होइन, बहाना हो । किनभने अघिल्लो सरकारले भ्रष्टाचारकोविरुद्धका सुशासनको पक्षमा केही पहल गर्न थालेपछि सत्तामा नआउने भएपछि अफ्ठेरोमा परिने भयो भन्ने कारणले नै बनेको हो यो सरकार ।’

‘यो संविधान एमाले नेतृत्वलाई सुरु देखि नै मन परेको छैन । उनीहरु यसमा माओवादीको छायाँ देख्छन् । त्यसैले यसको खारेजी एमालेको चाहना हो । त्यसका लागि वातावरण बनाउन संशोधनको चर्चा चलाइएको छ ।’ उनले भने । 

सम्पादकहरूसँगको छलफलमा उनले कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्नुपर्ने पर्याप्त आधार नभएको बताएपछि सरकार पछि हटेको आफूले सुनेको बताए।
उनले यही संविधान, लोकतन्त्रअन्तर्गत जन्मिएका पार्टीहरूलाई अपमानित गर्ने, तिरस्कार गर्ने ढंगले होइन तिनीहरूलाई उचित सम्मान दिएरमात्रै लोकतन्त्रलाई सुदृढ गर्न सकिने बुझाइमा आफू रहेको पनि बताए।
उनले आफू सरकारमा हुँदा रास्वपा लगायत नवोदित दललाई संरक्षण गरेर जानुपर्ने विषयमा तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेससँग गहिरो छलफल गर्ने गरेको बताए। 

प्रतिक्रिया