खाद्य कम्पनीमा सस्तो र स्वस्थ खसीबोका र उपभोग्य सामग्री पाउँदा उपभोक्ता मख्ख

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत यस वर्ष बिक्री वितरण भइरहेका खसीबोका र च्याङ्ग्रा उपभोक्ताको रोजाइमा परेका छन् । निजी क्षेत्रभन्दा सस्तो मूल्यमा स्वस्थ खसीबोका तथा च्याङ्ग्रा खरिद गर्न पाउँदा उपभोक्तासमेत मख्ख देखिन्छन् । 

कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयमा खसी किनेर डोहोर्‍याइरहेकी घट्टेकुलो निवासी बिनु भुर्तेलले अघिल्लो वर्षको तुलनामा यस वर्ष सस्तो र राम्रो खसी भेटिएको प्रतिक्रिया दिइन् । 

कम्पनीले यस वर्ष जीउँदो खसीबोकाको मूल्य प्रतिकिलो  छ सय ७० तथा च्याङ्ग्राको मूल्य प्रतिकिलो एक हजार दुई सय ३० रुपैयाँ तोकेको छ । उपभोक्तालाई सो मूल्यमा प्रतिकिलो  १० रुपैयाँ छुट दिइएको कम्पनीका सहायक विभागीय प्रबन्धक ज्ञानु थापाले बताइन । 

यस वर्षको दसैँलाई लक्षित गरेर विभिन्न स्थानबाट एक हजार चार सय खसीबोका तथा तीन सय वटा च्याङ्ग्रा भित्र्याउनेक्रम जारी छ । नवलपुरबाट विभिन्न सहकारीमार्फत पाँच सय, हेटौँडाबाट पाँच सय र दाङबाट चार सय खसीबोका तथा मुस्ताङबाट च्याङ्ग्रा खरिद गरिएको हो । हालसम्म छ सय ९३ खसीबोका तथा च्याङ्ग्रा बिक्री भइसकेका छन् । कम्पनीले यही असोज १९ गते चार सय खसीबोका तथा च्याङ्ग्रा काठमाडौं भित्र्याएको थियो । असोज २० गतेदेखि थापाथलीस्थित कम्पनीको प्रादेशिक कार्यालयबाट खसीबोका बिक्री भइरहेको छ ।  

गत वर्षको तुलनामा यस वर्ष खसीबोकामा प्रतिकिलो  १० तथा च्याङ्ग्रामा प्रतिकिलो  ३० रुपैयाँ कम मूल्य निर्धारण गरिएको छ । कम्पनीले भित्र्याएको खसीबोका तथा च्याङ्ग्राको मूल्य सस्तो तथा स्वस्थ्य भएका कारण पनि उपभोक्ताले रुचाएको सहायक विभागीय प्रबन्धक थापाले बताइन् । “धेरै सङ्ख्यामा रहेका खसीबोका तथा च्याङ्ग्रा छानिछानी खरिद गर्नसक्ने भएका कारण पनि उपभोक्ताको आकर्षण बढेको हो”, उनले भनिन्, “उपभोक्ताले खुशीका साथ रोजीरोजी खसीबोका खरिद गरिरहेका छन् ।”

बजार मूल्यलाई हस्तक्षेप गर्न पनि खसीबोका तथा च्याङ्ग्रा बिक्रीलाई कम्पनीले निरन्तरता दिइएको उनको भनाइ छ । कम्पनीले निर्धारण गरेको बिक्री मूल्यलाई आधार मानेर निजी क्षेत्रका व्यवसायीले पनि मूल्य तोक्ने हुँदा बजारमा मूल्य नियन्त्रण गर्न सघाउ पुग्ने उनको  विश्वास छ ।

 कम्पनीले नेपालीहरूको प्रमुख चाड दसैँ, तिहार, छठ लगायत पर्वलाई लक्षित गरेर सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याएको छ । चाडपर्वमा खाद्यान्नको मूल्य अस्वाभाविक रूपमा वृद्धि हुने, कृत्रिम अभाव तथा कालोबजारी बढ्ने अवस्थालाई ध्यानमा राखेर सहुलियत मूल्य पसल सञ्चालन गरिएको सहायक विभागीय प्रबन्धक थापाको भनाइ छ । “सहुलियत पसलमा विगतदेखि नै उपभोक्ताको निकै आकर्षण देखिँदै आएको छ”, थापाले भनिन् । 

यस वर्ष पनि ४२ जिल्लाका ६३ स्थानमा सहुलियत पसल सञ्चालनमा आएको छ । बागमती प्रदेशमा छ वटा ‘आउटलेट’बाट उपभोक्ताले सहुलियत मूल्यमा खाद्यान्न खरिद गर्नसक्ने कम्पनीले जनाएको छ । 

कम्पनीले सूचना प्रविधिको उपयोग गर्दै अनलाइनबाट खाद्यान्नको अर्डर लिएर उपभोक्ताको भान्छासम्म पुर्‍याउँदै आएको छ । सहुलियत पसलमार्फत चामल तथा दालमा प्रतिकिलो  पाँच र खाने तेलमा प्रतिलिटर  सात रुपैयाँ छुट दिइएको छ । कम्पनीले सुपथ मूल्य पसल मार्फत चामल, दाल, गेडागुडी, तेल, नुन, चिनी, ग्यास तथा दुग्धजन्य पदार्थलगायत ३० प्रकारका उपभोग्य वस्तु बिक्री भइरहेको जनाएको छ ।

यसरी बिक्री गर्ने उपभोग्य वस्तुको गुणस्तरमा प्रश्न नउठ्ने गरी व्यवस्थापन गरिएको भन्दै सहायक विभागीय प्रबन्धक थापा खाद्यान्न प्रशोधनका विभिन्न चरणमा प्राविधिक परीक्षण अनिवार्य गरिएको बताउँछिन् । “कम्पनीका फुड टेक्नोलोजिस्टले खाद्यान्नको नमुना लिएर मापदण्ड पुगेको÷नपुगेको जाँच गर्छन्, निर्धारित मापदण्ड पुगेका खाद्यान्न मात्रै कम्पनीले खरिद गर्छ”, उनले भनिन्, “गुणस्तरमा प्रश्न नआउने गरी व्यवस्था गरेका छौँ, उपभोक्ता ढुक्क भए हुन्छ ।”
रासस

प्रतिक्रिया