बाढीले इलाका प्रहरी कार्यालय सिस्नेरीसहित ३० घर बगायो

बागमती । अबिरल वर्षासँगै आएको बाढीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारस्थित इलाका प्रहरी कार्यालयको भवनसहित ३० वटा घरटहरा बगाएको छ । वर्षासँगै आएको आएको बाढीपहिरोले सिस्नेरी बजारस्थित इलाका प्रहरी कार्यालय भवनसहित ३० वटा घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

घरटहरा बगाए पनि त्यहाँ मानवीय क्षति नभएको प्रहरी निरीक्षक सापकोटाको भनाइ छ । यस्तै, अविरल वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–१० घट्टेखोला नजिकै रहेका १० वटा घरहरू बागमती खोलाको पानीको बहाव बढेको कारण उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।

यस्तै, भीमफेदी गाउँपालिका–८ स्थित कान्तिलोकपथ सडकअन्तर्गत वाग्मती खोलाको पुलको मकवानपुर जिल्लातर्फको मुखमा खोलाले खोली १० मिटर बाटो बगाएको प्रहरी निरीक्षक सापकोटाको भनाइ छ । सोही स्थानमा सामान राख्नका लागि बनाइएको जस्ताको छानो टहरो तथा केही निर्माणसम्बन्धी सामग्रीसमेत बगाएर लगेको प्रहरीले जनाएको छ ।

त्यस्तै, बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन् । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज बिहान बाँधका दुईवटा ढोका खोलिएको थियो । विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको प्रहरीले जनाएको छ । बाढी तथा डुबानका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ । स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ ।

प्रतिक्रिया