काठमाडौँ उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज शनिबार वर्षकै सर्वाधिक वर्षा भएको छ । यहाँ आज बिहान वर्षा मापन सुरु भएयताकै बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज बिहान ८ः४५ बजे त्रिभुवन विमानस्थल वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा २३९।७ मिलिमिटर वर्षा मापन भएको जानकारी दिए ।

यो मापन सुरु भएयताकै सर्वाधिक वर्षा भएको उनले बताए । यसअघि सन् २००२ मा यहाँ १७७ मिलिमिटर वर्षा रेकर्ड भएको थियो । मौसमविद् लामिछानेले काठमाडौँ उपत्यकामा यति ठूलो वर्षा अहिलेसम्म मापन नभएको प्रारम्भिक अध्ययनले देखाएको र विस्तृत अध्ययन गरी केही दिनमा विस्तृत अवस्था प्रतिवेदन सार्वजनिक गर्ने पनि जानकारी दिए ।

उपत्यकाका अन्य नौ मापन केन्द्रमा पनि धेरै वर्षा मापन भएको छ । ललितपुरको चापागाउँमा सन् २००२ मा २४ घण्टामा २००।५ मिलिमिटर वर्षा भएकामा आज शनिबार ३२३ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । आज शनिबार साँझ भने जिरीमा ११२।४, जनकपुरमा १००, लुम्लेमा ११३।३, धरानमा १७७।६, धनकुटामा १७३, ओखलढुङ्गामा ११०।१ काठमाडौँमा  १९४, सिमरा १२० र भैरहवामा १९४।२ मिलिमिटर वर्षा भएको छ । 

भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा आज शनिबार साँझसम्म देशभरमा ६६ जनाको मृत्यु भएको छ भने ७९ जना बेपत्ता भएका छन् । काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता छन् । आज शनिबार साँझबाट भने मौसममा केही सुधार आएको छ । 
 

प्रतिक्रिया