दूरसञ्चार र इन्टरनेट सेवालाई निरन्तरता गर्न मन्त्रालयको निर्देशन

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार सेवा र  इन्टरनेट सेवा प्रदायकलाई आफ्नो सेवालाई प्रभावकारीका साथ निरन्तरता दिन निर्देशन दिएको छ । 

केही दिनदेखि देशभर भइरहेको अविरल रुपमा भएको वर्षा र सोका कारण सञ्चार पूर्वाधार क्षेत्रमा भएको क्षति विवरण र पूर्वाधारको पुनःसञ्चालन सम्बन्धमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा बसेको बैठकले उक्त निर्देशन दिएको हो ।

बैठकले ती सेवा निरन्तरताको सम्बन्धमा कुनै समस्या भएमा वा अन्य निकायसँग समन्वय गर्नुपर्ने आवश्यकता देखिएकामा नेपाल दूरसञ्चार प्राधिकरणमार्फत मन्त्रालयमा जानकारी गराउन पनि निर्देशन दिएको छ । 

मन्त्रालयले विपद प्रतिकार्य, उद्धार तथा राहतका सम्बन्धमा नेपाल सरकारबाट भएका निर्णयसम्बन्धी विषयवस्तु प्रभावकारी र नियमित रुपमा प्रचारप्रसार गरी जनतालाई समयमै सुसूचित गर्ने/गराउने निर्णय समेत गरेको छ । 
    
बैठकमा मन्त्रालयका सचिव राधिका अर्याल, मन्त्रालयका सूचना प्रविधिविज्ञ डा. शालिकराम पराजुली, नेपाल दूरसञ्चार प्राधिकारणका अध्यक्ष भूपेन्द्र भण्डारी, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी, रेडियो नेपालका कार्यकारी निर्देशक अम्मरध्वज लामा र दूरसञ्चार सेवा प्रदायक संस्था ‘एनसेल का सिआरओ विशालमणि उपाध्याय र इन्टरनेट सेवा प्रदायक संस्था ‘इस्पान का प्रमुख कार्यकारी अधिकृत सुवास खड्का लगायत सहभागी थिए । 
 

प्रतिक्रिया