विपद् प्रतियकार्यमा तदारुकताका साथ जुट्न सुरक्षा निकायलाई मुख्यमन्त्री सिंहको आग्रह

धनुषा ।  मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले लगातारको वर्षाका कारण प्रदेशका विभिन्न नदीको जलस्तर वृद्धि भई बाढी तथा डुबान भइरहेकाले विपत् प्रतिकार्यमा जुट्न सुरक्षा निकायलाई आग्रह गरेका छन् । आज शनिबार पूर्वपश्चिम राजमागअन्तर्गत बागमतीलगायत विभिन्न नदीको अवलोकनपछि मुख्यमन्त्री सिंहले नेपाल प्रहरीका मधेस प्रदेश प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक लालमणि आचार्य र सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्तावाहिनी मुख्यालयका प्रमुख एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धवोजीलाई टेलिफोन गरी यस्तो आग्रह गरेका हुन् ।

उनले जोखिममा रहेका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न र मानवीय तथा भौतिक क्षति हुन नदिन सबै खालका उद्धार कार्यमा जुट्न आग्रह गरे ।प्रदेशमा कार्यरत दुवै अधिकारीले सप्तकोशी र बागमती नदीबाहेक अन्य नदीको जलस्तर खतराको चिह्नभन्दा माथि पुगिनसकेको मुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।

उनहरूले तटबन्धलगायत संरचनाको आकस्मिक संरक्षण गरी गाउँबस्तीमा जलप्रवाह रोक्न, डुबानको जोखिममा रहेकालाई स्थानान्तरण गर्न र अन्य सङ्कटबाट पार पाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी विभिन्न ठाउँमा परिचालन भइरहेको जानकारी दिए । सप्तकोशी र बागमतीको बहाव खतराचिह्नभन्दा माथि पुगिसकेको र अन्य नदीमा समेत जलस्तर बढिरहेकाले उच्च सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई समेत आग्रह गरे ।

उनले विपद् व्यवस्थापन कार्यका लागि जिम्मेवार जनप्रतिनिधि र सरकारी अधिकारी तथा स्वयंसेवी संस्थाहरूसमेतलाई बाढीपानीबाट उत्पन्न हुने विपत् सामना गर्न तयार अवस्थामा रहन आह्वान गरेका थिए ।आज बागमती नगरपालिकाको कर्मेयास्थित बागमती पुलमा पुगेका मुख्यमन्त्री सिंहले पाँच हजार ५०० क्युसेक पानीको बहाव पुगेको र त्यो स्थिति खतराचिह्नभन्दा पाँच सयले बढी भएको, कुलेखानी जलविद्युत् केन्द्रको बाँधका ढोका खोलिँदै गइरहेको जानकारी पाएकाले जलस्तरमा थप वृद्धि हुने हुँदा नदी तटीय क्षेत्र रौतहट र सर्लाही जिल्लाका सरोकारवालालाई उच्च सतर्कता अपनाउन आग्रह गरे ।

प्रदेशको कमला नदीमा जलप्रवाह ११ हजार ५० क्यसेक छ । प्रदेशमा अहिलेसम्म कुनै ठाउँमा मानवीय तथा भौतिक क्षति भएको छैन । बाराको जितपुर सिमरा नगरपालिका–१२ स्थित लालबकैया नदीको तटबन्ध भत्किन लागेको खबर प्राप्त भएपछि नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकसहितको टोली त्यस ठाउँमा पुगी बाँध मर्मत कार्य भइरहेको जनाएको छ । 

प्रतिक्रिया