आजदेखि धरहरा खुला, निः शुल्क चढ्न पाइने

काठमाडौं । सुन्धारास्थित धरहरा आज(बिहीबार)देखि सञ्चालनमा आएको छ । 

सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले धरहरा सर्वसाधारणका लागि खुला गरेको हो । आज धरहरा चढ्न तत्काल शुल्क तिर्नुपर्ने छैन । सरकारले गठन आदेश नबनाउञ्जेलसम्म अहिलेलाई निःशुल्क गरिएको इकाइले जनाएको छ । इकाइले निःशुल्क प्रवेश गर्ने अनलाइन टिकटका लागि वेबसाइट बनाइरहेको छ । 

अनलाइन टिकट बुक गर्न  वेबसाइट बन्न बाँकी भएकाले आजका लागि धरहरा छेउको आकाशे पुलमुनि रहने काउन्टरबाट टिकट लिने व्यवस्था मिलाइएको छ । भोलिदेखि वेबसाइटबाटै टिकट बुक गर्न सकिने गरी तयारी भइरहेको छ । 

एक दिनमा बढीमा पाँच सय जनाले निःशुल्क धहरार चढ्न पाउनेछन् । त्यसबाहेक थप एक सय जना वृद्ध, अशक्त, अपाङ्गता भएका व्यक्तिहरू चढन् पाउनेछन् । एक पटकमा आठदेखि १० जनासम्मले पालैपालो धरहरा चढ्न पाउने व्यवस्था मिलाइएको छ । धरहराको माथि बार्दलीबाट बढीमा १० मिनेटसम्म अवलोकन गर्न पाइनेछ ।

आधुनिक धरहरा पुरानोभन्दा फराकिलो छ । बाहिरबाट हेर्दा ११ तलाको देखिने यसको भित्री संरचना २२ तलाको छ । माथि पुग्न दुई वटा लिफ्टका साथै सिँढीको पनि व्यवस्था गरिएको छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा परिसरमा बगैँचा, सङ्ग्रहालय, प्रदर्शनी कक्ष, पुस्तकालय, पार्किङ स्थल, क्याफे र व्यापारिक पसल पनि क्रमशः सञ्चालनमा ल्याउने तयारी छ । 

प्रधानमन्त्री के.पी शर्मा ओलीले तीन वर्षअघि नै निर्माणाधीन अवस्थामै धरहराको उदघाटन गरेका थिए ।
 

प्रतिक्रिया